२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

आर्थिक विकासमा पुँजी निर्माण

ADV
२०८१ असार २७ गते ०६:३०
आर्थिक विकासमा पुँजी निर्माण

–गम्भीर बहादुर हाडा

उत्पादनका विभिन्न साधनहरू मध्ये पुँजी पनि एक हो । यो मानव निर्मित चीज हो । मानिसहरूसँग भएको मुद्रा तथा अरू सम्पत्तिहरू उत्पादनको काममा तथा आम्दानी प्राप्त गर्ने काममा प्रयोग गरिएको छ भने त्यसलाई पुँजी भनिन्छ । पुँजीलाई मोटामोटी तीन वर्गमा वर्गीकरण गरिएको छ– स्थिर पुँजी, चल पुँजी र तरल पुँजी । स्थिर पुँजी भन्नाले ती स्थायी वस्तुहरू पर्दछन्, जसलाई बारम्बार उत्पादन कार्यमा प्रयोग गर्न सकिन्छ र धेरै समयसम्म टिकाउ हुन्छ । जस्तै : मेसिन, औजार, सवारी साधनहरू, फ्याक्ट्री, पार्टपुर्जाहरू स्थिर पुँजी हुन् । चल पुँजी भन्नाले उत्पादन कार्यमा एक पटक प्रयोग गरिएपछि पुनः प्रयोग गर्न नसकिने पुँजीलाई जनाउँछ । पदार्थ र इन्धन मुख्यतः चल पुँजी हुन् । तरल पुँजी खास गरेर व्यवसायको दैनिक आवश्यकता पूरा गर्न सकिन्छ अथवा सङ्कटकालीन स्थितिमा तत्काल प्रयोग गर्न सकिन्छ । नगद मुद्रा वा बैंक मुद्रालाई तरल पुँजीको रूपमा लिइनुको कारण यी मुद्राहरू उत्पादित वस्तुको बिक्रीबाट उपार्जन गरिएकोले नै हो । यस अर्थमा मुद्रालाई पनि पुनः उत्पादनको निम्ति उत्पादनको साधन मानिएको छ । 

पुँजी निर्माणको अर्थ हो, देशमा वास्तविक पुँजीगत वस्तुहरूको सञ्चयमा थप गर्नु अथवा मेसिन, औजार पुर्जाहरू, कारखाना, सवारी साधनहरू, विद्युत्, नहर र अन्य पुँजीगत वस्तुहरूको निर्माण देशभित्रै बढाउँदै लग्नु नै पुँजीगत वस्तुको निर्माण गर्नु हो । जसले भविष्यमा पुनः वस्तुको निर्माणमा सहयोग पु¥याउँछ । अतः देशमा पुँजीगत वस्तुहरूको निर्माण गरी थप गर्न बचत र लगानी अति आवश्यक छ । पुँजी उत्पादनको एक महत्वपूर्ण साधन हो । आजको युगमा पुँजीलाई यति महत्व दिएको छ कि यो युग नै पुँजीको युग हो भनेका छन् । अर्थात् पुँजी उत्पादनको लागि उत्पादित साधन हो । प्रकृतिले दिएको भूमिलाई हामीले जति चाह्यो त्यति बढाउन या घटाउन सक्दैनौ तर, पुँजीलाई हामीले प्रयास गरी थपघट गर्न सकिन्छ । अर्थात् पुँजी मानिसले बचाउन सक्ने चीज हो । आर्थिक क्रियाकलापको सुरुबाट भविष्यमा उत्पादित वस्तुहरू अरू उत्पादन गर्नमा सहायता पुर्‍याउँछ । 

आर्थिक विकासको मुख्य निर्धारक तत्व पुँजी नै हो । पुँजीको ढुकुटीको आधारमा विकासको गति निर्भर रहेको हुन्छ । वास्तवमा पुँजी आधुनिक आर्थिक विकासको साँचो हो । पुँजी मानिसद्वारा निर्माण गरिएको भौतिक वस्तु हो । पुँजी निर्माण चाहिँ बचत तथा लगानीमा निर्भर रहेको हुन्छ । पुँजी संकलन नै आर्थिक विकासको मुख्य तत्व हो । यो पुँजी वर्तमान समयमा उपयोग नगरी पुनः लगानी गर्न उपलब्ध भएको आर्थिक उत्पादन गर्न सहयोग पु¥याउने खालको बचत हो । अविकसित र विकासोन्मुख देशहरूमा केवल पुँजीको कोष र नवीनतम औजार र यन्त्रहरूको पूर्तिबाट मात्र त्यसको आर्थिक विकास हुन सक्दैन । 
कुनै अर्थ व्यवस्थामा पर्याप्त मात्रामा प्राकृतिक साधनहरू र श्रम शक्तिको उपलब्ध भएमा पुँजीको उचित प्रयोगद्वारा नै उत्पादनमा वृद्धि गर्न सकिन्छ । अर्को भौतिक पुँजीमा वृद्धिबाट मानवीय पुँजीको वृद्धि गर्न सम्भव बनाउँछ । पुँजी निर्माण अथवा पुँजी सञ्चय बचतको परिणाम हो । वर्तमान युगमा प्राविधिक प्रगति बिना देशको तीव्र आर्थिक विकास सम्भव हुँदैन । देशमा पर्याप्त मात्रामा पुँजी उपलब्ध भएमा विकास हुन्छ । 

व्यापक अर्थमा पुँजी निर्माणअन्तर्गत भौतिक पुँजीका अतिरिक्त अभौतिक अथवा अदृश्य पुँजी जस्तो मानवीय स्वास्थ्य, शिक्षा, तालिम, प्रशिक्षण आदिलाई पनि सम्मिलित गरिन्छ । पुँजी निर्माणलाई सङ्कीर्ण र व्यापक अर्थमा प्रयोग गरिन्छ । सङ्कीर्ण अर्थमा भौतिक पुँजीगत वस्तुमा हुने बुद्धिलाई पुँजी निर्माण भनिन्छ र आज यही अर्थ सामान्य जीवनमा प्रचलित छ । तर, व्यापक अर्थमा भौतिक पुँजी र मानवीय पुँजीमा हुने बुद्धिलाई पुँजी निर्माण भनिन्छ । समाजले आफ्नो सम्पूर्ण धन अथवा इच्छा तथा आवश्यकताको पूर्तिका निम्ति तत्काल खर्च गर्दैन । भविष्यमा उपभोग्य वस्तुहरूको सम्भावनालाई अभिवृद्धि गर्ने अभिप्रायले मानवीय तथा पुँजीगत वस्तु उत्पादनका लागि जुन स्रोत प्रयोग गर्छ, त्यसलाई नै पुँजी निर्माण भनिन्छ । उत्पादनका विभिन्न साधनहरूमध्ये पुँजी पनि एक हो । यो मानव निर्मित चीज हो । मानिसहरूसँग भएको मुद्रा तथा अरू सम्पत्तिहरू उत्पादनको काममा तथा थप आम्दानी प्राप्त गर्ने काममा प्रयोग गरिएको छ भने त्यसलाई पुँजी भनिन्छ । 

पुँजी निर्माणअन्तर्गत भौतिक पुँजीको अतिरिक्त अभौतिक अर्थात् अदृश्य पुँजी जस्तो मानवीय स्वास्थ्य, सीप, प्रशिक्षण आदि पनि सम्मिलित गरिन्छ । अर्को शब्दमा, पुँजी निर्माणको अभिप्राय ती सम्पूर्ण भौतिक र अदृश्य वस्तुसित छ जसले अर्थव्यवस्थाको उत्पादन क्षमतामा वृद्धि गर्दछ । 

अनिवार्य बचत पुँजी निर्माणको महत्वपूर्ण तरिका हो । विकासशील देशमा मानिसको प्रतिव्यक्ति आय कम भएको हुनाले राष्ट्रिय घरेलु बचत न्यून हुन्छ तर, मानिसको उपभोग प्रवृत्ति अत्यन्त बढी हुन्छ । उच्च उपभोग प्रवृत्तिको कारण विनियोगको वाञ्छित दर प्राप्त हुँदैन र पुँजी निर्माण अवरुद्ध हुन्छ । विकासशील देशमा, प्रदर्शनकारी प्रभावको कारण कूल बचत नगण्य हुन्छ । अतः सरकारले जनताको उपभोग प्रवृत्ति र प्रदर्शनकारी प्रभावलाई हतोत्साहित गरेर बचत परिचालन गर्न अनिवार्य बचत नीति अनुसरण गर्दछ । 

नेपाल जस्तो विकासोन्मुख देशमा विकसित देशको तुलनामा देशको जनशक्ति र प्राकृतिक साधनको अनुपातमा पर्याप्त पुँजी नहुनाले नै आर्थिक विकास हुन नसकेको देखिन्छ । अतः पुँजी निर्माणको महत्व यस्ता मुलुकहरूमा झन् झन् बढ्दै गएको हुन्छ । जुनसुकै देशको आर्थिक विकास पनि पुँजीको उपलब्धिमा धेरै हदसम्म निर्भर रहेको हुन्छ । पुँजीको संकलनमा वृद्धि हुँदा श्रमिकहरूको उत्पादन दक्षतामा पनि वृद्धि हुन्छ । उत्पादन क्षमतामा वृद्धि हुनाले देशको कूल उत्पादनमा पनि वृद्धि हुन्छ, जसले गर्दा जनताको जीवन स्तरमा वृद्धि ल्याउँछ । 

अर्को कुरा, पुँजी निर्माणको स्थिति विकसित देश र विकासोन्मुख देशको बिच ठिक एक अर्काको विपरीत छ । विकासोन्मुख देशको दुर्लभ बचतलाई उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने एकातर्फ छ भने अर्कोतर्फ विकासको लागि वर्तमान उपभोगलाई अति आवश्यक र आवश्यक वस्तुहरूमा मात्र सीमित गरी बचतको प्रतिशत वृद्धि गर्नु उत्तिकै अनिवार्यता पनि छ । यस्तो प्रक्रियालाई कायम गरी वर्तमान समयमा ५ प्रतिशत कूल राष्ट्रिय आयको बचत गर्न सक्षम भएका विकासोन्मुख देशहरू पछि १२ देखि १५ प्रतिशत सम्म बचत गर्न सक्ने अवस्थामा पुग्ने छन् । तर, यस्तो कार्य गर्नको लागि जनभावना, तरीका, प्रविधि, संस्थाहरूको परिवर्तन र सरकारले दिइने सुविधाहरूलाई बढाएर मात्र सम्भव हुन आउँछ । पुँजी निर्माणको लागि आवश्यक बचत गर्न सक्ने क्षमतामा कसरी वृद्धि गर्ने र गरिएको बचतलाई कसरी उत्पादनशील बनाउने भन्ने दुई प्रमुख कारणहरू छन् र क्षमतामा वृद्धि गर्न विकासोन्मुख देशमा रहेको जनशक्तिको उचित परिचालन हुनुपर्दछ । प्रत्येक व्यक्तिले रोजगारीको समान अवसर पाउन सक्नुपर्दछ । श्रममूलक प्रविधिको प्रयोग गरी श्रमिक वर्गलाई उत्पादनशील काममा संलग्न गराउनु आवश्यक पर्दछ ।

पुँजी निर्माणको लागि आवश्यक बचत गर्न सक्ने क्षमता कसरी वृद्धि गर्ने र गरिएको बचतलाई कसरी उत्पादनशील बनाउने भन्ने कुराहरू ज्यादै महत्वका ठानिन्छन् । क्षमता वृद्धि गर्न देशमा रहेको जनशक्तिको उचित परिचालन हुनुपर्दछ । प्रत्येकले रोजगारी पाउनुपर्छ । श्रममूलक प्रविधिको प्रयोग गरी श्रमिक वर्गलाई उत्पादनशील काममा प्रयोग गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा विकासको लागि पर्याप्त रूपमा स्वदेशी पुँजी उपलब्ध हुन सक्दैन । निर्यात व्यापारबाट पनि आवश्यक पुँजी संकलन हुन सकिरहेको हुँदैन । यस्तो स्थितिमा विदेशी पुँजीको मुख ताक्नुपर्ने अवस्था जन्मन्छ । 

आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहँदै आएको छ । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश वार्षिक औसत ९१.२ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अंश घट्दै गएको छ । कुल उपभोगमा सरकारी क्षेत्रको उपभोगको अंश घट्दै गएको छ भने निजी क्षेत्र र गैर–नाफामूलक संस्थाको उपभोगको अंश केही बढेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत ७.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष सीमान्त वृद्धि भई ७.६ प्रतिशत पुग्ने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अंश पछिल्ला दुई आर्थिक वर्ष बढेको छ । पुँजीगत खर्च र कर्जा लगानी न्यून भएका कारण कुल लगानीमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा उच्च दरले घटेको कुल लगानी त्यसपछि क्रमशः बढ्दै गत आर्थिक वर्ष २०७९/८० मा पुनः घटेको छ । चालु आर्थिक वर्ष कुल स्थिर लगानी ४.० प्रतिशतले बढ्ने अनुमान रहेको छ । कुल स्थिर लगानीमा निजी क्षेत्रको लगानीको अंश अधिक रहेको छ । 

घरपरिवार, सरकारी तथा निजी क्षेत्रमा हुने अनावश्यक उपभोग खर्च निरुत्साहित गरी बचत अभिवृद्धि गर्न नियमनकारी तथा प्रोत्साहनात्मक व्यवस्था गर्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ । बचत रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न पुँजी बजारमा पहुँच वृद्धि गर्नुको साथसाथै नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन र उत्पादनशील लगानीका अवसर सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यकता रहन आएको छ । बचत परिचालनलाई प्रोत्साहन गरी पुँजी निर्माण गर्न स्वदेशी लगानी अभिवृद्धि गर्ने र वैदेशिक लगानीको वातावरण तयार गरी पुँजी निर्माणमा सहजीकरण गर्नु जरुरी छ । 

उपभोगमा कटौती गरेर बचतमा भएको बुद्धिलाई पुँजीगत वस्तुको उत्पादनमा लगाउनुपर्दछ । यसको साथसाथै श्रम तथा उत्पादनका अरू साधनहरूलाई गैर आर्थिक क्षेत्रबाट उत्पादन कार्यमा हस्तान्तरण गरिनु आवश्यक छ । अदृश्य बेरोजगारीलाई उपयोग गर्नुको साथै तीव्र जनसंख्या वृद्धि दरलाई नियन्त्रण गरिनुपर्दछ । कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर औद्योगिक विकासमा जोड दिने र घाटाको वित्त व्यवस्थालाई सम्भवतः कम गरिनु आवश्यक छ । उद्यमशीलतालाई आवश्यक प्रोत्साहन र संरक्षण पनि दिइनु जरुरी छ ।

पुँजी निर्माण आर्थिक विकासको लागि आवश्यक हुनाले पुँजी निर्माणको दर बढाउन हामीले हरतरह प्रयास गरिनुपर्छ । यसको लागि सबै साधनहरू जुटाउनुपर्दछ । नेपाल जस्तो मिश्रित अर्थव्यवस्था अपनाउने देशमा निजी र सरकारी दुवै क्षेत्रमा पुँजी निर्माण हुनुपर्दछ । पुँजी निर्माणको लागि बचत बढाउनुपर्दछ । यस कारण पहिलो कदम उठाउनुपर्दछ, त्यस देशमा ऐच्छिक बचतहरूलाई बढाउने प्रयत्न गरिनु पर्दछ ।

ADVADV

सम्बन्धित खबर

Advertise