जुम्ला : जुम्लाको तिला गाउँपालिकाको वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । उक्त वडाले एक औपचारिक कार्यक्रम गरी आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई रोक्न लगाउने भएको हो ।
२० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको पाँच वडालाई मंगलबार बालविवाह मुक्त घोषणा गरेको छ । स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताए ।
यसअघि धार्मिक मान्यताको रुपमा हुँदै आएको बालविवाह पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुयोग र देखासिकीले बढ्दै आएको पाइन्छ । यसलाई कानुनी अपराध वा घटनाको रुपमा बुझ्न वर्तमान समयको माग भएको स्थानीयहरु बताउँछन् । उक्त पालिकामा ९ वडा छन् । पहिलो पटक तिलाको ६ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । सोमबार ५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको तिला गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बताइन् । यो वडाभित्र डोग्री, ढिम्कोट, चुलाकोट र खोली गाउँ गरी चार वटावडा रहेका छन् ।
वडा नं. ५ को बालविवाहमुक्त घोषणा कार्यक्रममा समन्वय प्रमुख गौरी नन्दन आचार्यले बालविवाहको अन्त्यका लागि कानूनी प्रावधानको पालना र समाजमा यसको रोकथामका लागि सबैको दायित्व रहेको बताए ।
उनले बालविवाह गर्ने वा गराउनेलाई सरकारले दिने सेवा सुविधा रोक्नुपर्ने र बालविवाह र बहुविवाह जस्ता कुरीति हटाउनका लागि सबैको दायित्व हुने बताए ।
त्यस्तै यस अभियानमा किडार्क नेपाल र वल्र्ड भिजन जस्ता संस्थाहरूको सहयोग र समन्वय रहेको तिला ६ का वडाध्यक्ष ललित बहादुर शाहीले बताए । यस अभियानमा सरोकारवाला र स्थानीय र संस्थाहरूको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ ।
त्यस्तै अध्यक्ष मोतिलाल रोकायाले नेपाल सरकारले सन् २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको बताए ।
यसका लागि स्थानीय तहहरूले गैरसरकारी संस्थाहरूको सहयोगमा बालविवाहमुक्त वडा घोषणा गर्दै पालिका मुक्त गर्ने अभियानमा रहेको बताए । उनले बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । उनले कानुन अनुसार बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन् । उनले केही वडालाई पनि अबको केही समयपछि तिलागाउँपालिकालाई बालबिवाह मुक्त घोषणा गर्ने तयारी भइ रहेको बताइन् ।