दोहा कतार : जीवन विज्ञान कतारले ११ औं अन्तर्राष्ट्रिय योगा दिवसको अवसर पारेर ‘योग– आफ्नो भाग्य आफै बनाउने विज्ञान’ कार्यक्रममा सम्पन्न गरेको छ । दिवसको अवसर पारेर शुक्रबार कतारको अल थुमामा रहेको द आर्टियुम हलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
योग दिवस कार्यक्रममा जीवन विज्ञानका संस्थापक, आध्यात्मिक गुरुद्वय एल पी भानु शर्मा र रमेश नेपालले जीवन जिउने कलासहित जीवन विज्ञानले मानवभित्र लुकेर रहेको असीमित प्रतिभा र सम्भावनालाई सनातन आध्यात्मिक ज्ञान र आधुनिक मनोविज्ञानका नवीन प्रयोगद्वारा मानिसमा दिव्यताको खोजी कसरी गर्दछ भन्ने बारेमा दिव्य ज्ञान प्रदान गरेका थिए ।
गुरुहरूले योग, ध्यान, साधना र मनोविज्ञानका गहिरा सूत्रहरूको व्यावहारिक र प्रयोगात्मक अभ्यास गर्ने थलो नै जीवन विज्ञान रहेको बताए ।
गुरु शर्माले जसलाई तिमी दुःख भन्छौं, त्यो तिमीभित्र लुकेका सम्भावनाहरू रहेको बताउँदै जीवनमा जसले म ठूलो हो भन्छ त्यो सकिने र जसले म सानो हो भन्छ त्यो समृद्धितिर जाने बताए । सबैलाई स्वीकार गर्न सक्नु नै समुन्द्र जस्तै अटल र फराकिलो बन्नु रहेका उनले बताए ।
ध्यानले आँखा खोले अरू र आँखा बन्द गरे आफूलाई देखिने हुँदा देशले एक मानव खोजिरहेको छ हैन देशले खोजिरहेको मानिस बनिरहेको छु भन्ने सकारात्मक सोच राख्नु नै सफलतातर्फ उन्मुख हुनु उनले बताए । आफूलाई नचिनी काम गर्ने व्यक्ति सफल नहुने दिव्य ज्ञान गुरुले उपस्थित समक्ष बाँडे ।
गुरुले बिल गेट्सको उदाहरण दिँदै उनले साप्ताहिक योग र ध्यान गर्ने बताउँदै योग र ध्यान सर्वसाधारणदेखि उद्यमी तथा व्यवसायीका लागी पनी आवश्यक रहेको बताए ।
विज्ञान कतारका संयोजक रामजी खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले योगले जीवनलाई सुन्दर बनाउने बताए । त्यस्तै अर्का गुरु नेपालले सुख विशेष गरी स्वास्थ्य, सम्बन्ध र सम्पत्ति गरेर तीन क्षेत्रमा हुने बताए । उनले सम्पत्ति कमाउन स्वास्थ्य र सम्बन्ध राम्रो हुनुपर्ने आवश्यकता औँल्याए । मूलाधार चक्रलाई चलायमान बनाउन सक्ने मोटो पेट स्वतः कम हुने गुरु नेपालले बताए ।
स्वादिष्टान चक्र बिग्रँदा मन बिग्रने र अकारण चिन्ता बढ्ने गरेको उनले बताए । मणिपुर चक्र कमजोर हुँदा आँच र साहस पनि घट्ने र जोखिम उठाउन नसकिने हुँदा सफल हुन नसकिने बताउँदै विशुद्धि अर्थात् ज्ञानको चक्र पनि सक्रिय बनाउने बारेमा दिव्य ज्ञान व्यक्त गरेका थिए ।
जीवन विज्ञानले मानिसहरूलाई आध्यात्मिक रूपमा बढ्न र आन्तरिक खुसी र शान्ति पाउन मद्दत गर्नु रहेको बताएका थिए ।
जीवन विज्ञानले मानिसलाई आध्यात्मिक विकास र प्रेमले भरिएको उज्यालो भविष्य तर्फ हिँडाउन मद्दत गर्दछ भने योग, ध्यान र सजगताले मानिसहरूलाई आफ्नो वास्तविक आत्मा पत्ता लगाउन र आफूमा लुकेको क्षमता उजागर गर्न मद्दत गर्ने गर्दछ । विज्ञान कतारका सह–सचिव लीलानाथ घिमिरेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खत्रीले कार्यक्रमका बारेमा सल्लाह सुझाव प्रदान गरिदिन आग्रह गरे । उनले भविष्यमा पनि आवश्यक परेमा यस्तै प्रकृतिका कार्यक्रमको आयोजना गर्न आफुहरु तत्पर रहेको प्रतिबद्दता व्यक्त गरेका थिए ।