
इलाम : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव हुने भएको हो ।
महोत्सव व्यवस्थापनका लागि सूर्योदय-१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । सूर्योदय-७, ८ र ९ का जनप्रतिनिधिसहित स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले तयारी तीव्र पारेको संयोजक लामाले बताए ।
उनका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् ।
महोत्सवमा ‘जलवायु परिवर्तनको सामना: दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयक अन्तरसंवाद हुनेछ । सङ्घीय सांसद, नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधि सहभागी हुने अन्तरसंवादको सहजीकरण पत्रकार वसन्त बस्नेतले गर्ने संयोजक लामाले जानकारी दिए ।
महोत्सवमा स्थानीय खाद्य परिकारका कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, परीक्षण र बजारीकरणको व्यवस्था गरिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले बताए । उनका अनुसार महोत्वसमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछन् ।
पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ कन्याममै ९ किलोमिटर दुरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् ।
त्यस्तै, महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगद पुरस्कार पाउनेछन् । महोत्सवमा आन्तरिक र बाह्य गरी करिब १० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको समितिका संयोजक लामाले बताए ।
“चिया पर्यटन प्रवर्द्धन गर्ने र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “महोत्सव आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।” महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय-७ कन्यामबाट वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ ।
सूर्योदय नगरपालिका-७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् ।