२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

नेपाली भूमिमा भारतीय प्रहरी

shivam cement
२०८२ असार ७ गते ०६:४०
नेपाली भूमिमा भारतीय प्रहरी

काठमाडौं : नेपाल–भारत बीचको खुला सिमाना प्रयोग गरी पटक पटक भारतीय प्रहरीको निर्वाध नेपाल प्रवेश र नेपाली नागरिक पक्राउ गर्नुले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको छ । नेपाल र भारतबीच भएको सुपुर्दगी सन्धिलाई वेवास्ता गर्दै नेपाल सरकार र नेपाल प्रहरीसँगको समन्वय बिना भारतीय प्रहरी नेपाल आएर नेपालीलाई पक्राउ गर्ने घटनाहरू बढ्दै गएका छन् । 

बिहीबार भारतको तेलङना राज्यको हैदराबादबाट भारतीय प्रहरीका डिएसपी जसवन्त सिंहसहित ३ जनाको टोली काठमाडौँ आएर एक नेपाली नागरिकलाई पक्राउ गरेका हुन् ।

तर नेपाल प्रहरीको सक्रियताका कारण उनीहरूले ती युवालाई भारत लैजान पाएनन । करिब ३ करोड रूपैयाँ चोरी मुद्दाको आरोपमा नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर भारत लैजान लाग्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीले भारतीय प्रहरी अधिकारीहरूलाई पक्राउ गरी भारतीय दूतावासलाई जिम्मा लगाएका हुन् । केही समय अघि हैदरावादमा भएको चोरीको घटनामा दर्जन बढी नेपालीहरूको संलग्नता रहेको समाचार आएका थिए । 

त्यसमध्ये फरार एकजना काठमाडौँमा लुकेर बसेको भारतीय प्रहरीले पत्ता लगाएर नेपाल आएको बताइएको छ । सपरिवारसहित होटलमा बसेका ती युवकलाई जबर्जस्ती पक्राउ गरी भारतीय गाडीमा राखेर लैजाने क्रममा विवाद भएपछि स्थानीयले नेपाल प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरी जानकारी गराएका थिए । सोही सूचनाका आधारमा उपत्यकाका सबै युनिटलाई एकैचोटि सर्कुलर गरी भारतीय गाडी नियन्त्रणमा लिन सफल भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । 

स्वयम्भू प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरू भारतीय प्रहरी भएको थाहा पाएको ती अधिकारीले मध्यान्हलाई जानकारी दिए । हैदरावाद प्रहरीका डिएसपी जसवन्त सिंहको नेतृत्वमा स्थलमार्ग हुँदै ३ जना प्रहरी सोमबार बिहान काठमाडौँ आइपुगेका थिए । 

कूटनीतिक माध्यमबाट भारतीय पक्षसँग बुझ्दा उनीहरू भारतीय प्रहरी नै भएको खुलेपछि दूतावासको जिम्मा लगाइएको र पक्राउ परेका नेपालीलाई सामान्य सोधपुछ गरेर छाडिएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।  यद्यपि यो घटनालाई सार्वजनिक गर्न नेपाल प्रहरीले समेत चाहेको छैन् । 

यस्ता घटना लुकाउँदा भारतीय प्रहरीको हर्कत थप बढ्ने सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । ‘यो घटनाले नेपालको सुरक्षामाथि थप खतरा बढेको संकेत गरेको छ’, सुरक्षा विज्ञ एवं नेपाल प्रहरीका पूर्वडीआईजी  हेमन्त मल्ले भने ‘नेपाल सरकारको सहमति र प्रहरीसँग समन्वय नगरी भारतीय प्रहरी सुटुक्क काठमाडौँ छिरेको घटनाले नेपालको राष्ट्रिय सुरक्षामाथि गम्भीर चुनौती थपेको छ । यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयले भारत सरकार र दूतावासलाई कडा रूपमा जानकारी गराउनुपर्छ ।’

सम्बन्धित देशको सरकार र प्रहरीसँग समन्वय नगरी कुनै देशका प्रहरी अर्को देशमा जानु सुरक्षाका हिसाबले चुनौती बढ्ने उनको तर्क छ ।   तर कतिपय अवस्थामा स्थानीय चौकीलाई थाहा नभएर उनीहरू त्यसरी आउने गरेपनि कानुनी हिसाबले थाहा छैन भन्न नपाइने मल्लले बताए । 

पहिला–पहिला पनि यस्ता घटनाहरू हुने गरेको अनुुभव सुनाउँदै उनले भने ‘भारत मात्रै नभएर अरू मुुलुुकहरूमा पनि उच्च तहमा समन्वय गरेर अपराध अनुुसन्धान तथा नियन्त्रण सम्बन्धी कार्य हुुुने गरेको छ ।’ कहिलेकहीँ स्थानीय प्रहरीलाई थाहा नभएर पनि बिना समन्वय भारतीय प्रहरीहरू नेपाल आउने गरेका र उनीहरूलाई आवश्यक सोधपुछ गरी २ देशबीच निरन्तर हुनुपर्ने सहकार्यलाई मध्यनजर गर्दै दूतावासको जिम्मा लगाउने व्यवहारिक अभ्यास रहेको मल्लले बताए । ‘कतिपय अवस्थामा भारतीय प्रहरीले थाहै नपाई गल्ती गर्ने गरेका छन् । तर कानूनले थाहा छैन भन्न पाइदैन’, उनले भने । यद्यपि यो विषय सुरक्षा चुनौतीका हिसाबले गम्भीर रहेकाले मल्लको भनाइ छ । 

यसअघि गत फागुनमा अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौं आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो । ठमेलस्थित अलफ्ट होटलबाट सीआईबीको टोलीले पक्राउ गरेका उनीहरूलाई भारतीय दूतावासको जिम्मा लगाएको थियो । ती भारतीय प्रहरी १२ फागुनमा काठमाडौँ आएर अलफ्ट होटलमा बसेर नेपालीमाथि निगरानी राख्दै आएका थिए । 

सो घटनापछि भारत सरकारले आफ्ना प्रहरी संगठनलाई बिना समन्वय नेपाल प्रवेश नगर्न सर्कुुलर जारी गरेको थियो । अपराध कर्ममा संलग्न रहेर एक अर्काको देशमा बसिरहेकाहरूलाई पक्राउ गर्न नेपाल र भारतबीच सुपुर्दगी सन्धि छ । जसअनुसार एक देशमा अपराध गरेर अर्को देशमा लुकेर बस्नेलाई दुवै देशका प्रहरीको आपसी समन्वयमा पक्राउ गरी सम्बन्धित पक्षलाई बुझाउने नजिर छ । विगतको नजिर हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र गत १५ चैतमा तीनकुने हत्या घटनामा फरार दुर्गा प्रसाईलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाललाई बुझाएको थियो । 

भारतमा गैरकानुनी काम गरेर नेपालमा बस्दै आएका कसुरदारलाई पनि नेपालले त्यसैगरी बुझाउने अभ्यास छ । भारतीय प्रहरीले नेपाली भूमिमा बर्दीसहित आएर नेपालीलाई पक्राउ गर्नुु कानुन विपरीत मानिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise