सिरहा : सिरहामा सवारी दुर्घटना बढ्न थालेपछि यातायात व्यवस्था कार्यालयले जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
शनिबार लहान बजारमा जनचेतना जगाउन ब्यान्ड बाजा बजाएर प्रभातफेरी गरिएको छ । विद्यार्थी, कर्मचारी, ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नारा लेखिएको प्लेकार्ड बोकेर बजारमा प्रभातफेरि गरेका थिए । सर्वसाधारणलाई बाजाको माध्यमबाट ध्यानाकर्षण होस् भनेर ब्यान्ड बाजा लिएर नै जनचेतना कार्यक्रम गरिएको हो ।
चालु आर्थिक वर्षको हालसम्ममा सिरहामा ८६१ वटा सवारी दुर्घटनामा १ हजार ३७४ जना घाइते भएका छन् भने ७९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी आर्थिक वर्ष ०८०/०८१ मा १ हजार ५७९ घाइते, ६८ को मृत्यु, ०७९/०८० मा १ हजार ८३ घाइते, ६६ को मृत्यु र ०७८÷०७९ मा ९७४ जना घाइते र ७२ जनाको मृत्यु भएको थियो ।