काठमाडौं : प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता कर्म गर्ने पत्रकार अरुलाई दुख दिने बारुलो जस्तो हुन नहुने प्रतिक्रिया दिएका छन् ।
मिडिया र सामाजिक सञ्जालबीच फरक रहेको भन्दै बस्नेतले मिडिया सञ्चार माध्यमको स्वरूपमा हुने तर सबै सामाजिक सञ्जाल मिडिया नहुने कुरा सबैले बुझ्नुपर्ने बताए ।
'पत्रकारिता कर्म गर्ने पत्रकार अरुलाई दुख दिने बारुलो हुन सक्दैनन्, मेहनती र कर्मठ माहुरी जस्तै हुनुपर्छ,' काउन्सिलमा रहँदा फेसबुक, टिकटक जस्ता सञ्जालमासमेत नियमन थालेका उनले भनेका छन् ।
कुन मिडिया हुन्, कुन होइनन् भन्ने भ्रम समाजमा बढिरहेका बेला उनले शनिबार सामाजिक सञ्जालमार्फत प्रस्ट सुझाव राखेका हुन् । समाचार र अफवाह सूचनालाई चामल र भुस जत्तिकै छानेर 'सञ्चारमाध्यमका रुपमा आएका सञ्जाल र अन्य सञ्जाल भनी छुट्याउन र चिन्नुपर्छ । गलत र अफवाहपूर्ण सूचना डिलिट हुन नसक्ने होइन, अधिवक्तासमेत रहेका बस्नेतले नियमनकारी निकाय काउन्सिलको प्रमुख हुँदाको अनुभवसहितका आधारमा लेखेका छन् ।
उनको सुझाव छ- 'राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ ।'
सामाजिक सञ्जालको दुरुपयोग रोक्न र रचनात्मक पत्रकारिताको विकास गर्न काउन्सिलमा रहँदा भएका कामलाई अदालतले सदर गरेको थियो ।
मिडिया र सामाजिक सञ्जालबीच भेद खुलाउने गरी बस्नेतले यस्तो सुझाव राखेका छन्-
मिडिया सञ्चार माध्यमको स्वरूपमा हुन्छन् । सबै सामाजिक सञ्जाल मिडिया हुँदैनन् । यो भेद प्रष्ट बुझ्नुपर्छ।
राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ । गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ । नभएका कुरा गरेर फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति पटक्कै होइन । आफ्नो संस्कृति आफै मिचेर बलवान होइँदैन ।
युट्यूव र अन्य सामाजिक सञ्जाललाई अवसरका रूपमा लिइ सदुपयोग गर्नुपर्छ। अफवाह सूचना र अनेकन खालका नकरात्मक सामग्री पोख्ने माध्यम बनाइनुहुन्न।
पत्रकार यस्ता विकृतितिर लट्पटिनु हुन्न।
समाचार र अफवाह सूचनालाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका सञ्जाल र अन्य सञ्जाल भनी छुट्याउन र चिन्नुपर्छ । गलत र अफवाहपूर्ण सूचना डिलिट हुन नसक्ने होइन।
यी सबैमा रचनात्मक र समाधानमुखी सामाग्री पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफै अन्त हुन्छ ।
प्रष्ट छ, सबै युट्युवर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन् ।
पत्रकारिता कर्म गर्ने पत्रकार अरुलाई दुख दिने बारुलो हुन सक्दैनन्, मेहनती र कर्मठ कर्मी माहुरी जस्तै हुनुपर्छ।