२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

किसानलाई चैते धान थन्क्याउने चटारो

shivam cement
२०८२ असार ८ गते १०:४०
Shares
किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँ : जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ ।

जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धान खेती गरिन्छ । भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धान खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धान खेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धान खेती हुँदै आएको छ । मनसुन सुरु भएसँगै चैते धान खेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (बर्खे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धान खेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्यान नभ्याई छ ।

मनसुन सुरु हुनासाथ बर्खे धान मात्र हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको अधिकृत परियारले बताए । तनहुँ धान खेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । उक्त क्षेत्रफलमा गरिएको धान खेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको छ । 

चैते धान प्रवर्द्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएका  अधिकृत परियारले बताए । थन्क्याउने कार्य चलिरहेकाले चालु आवको तथ्यांक आउन बाँकी रहेको छ । उनले भने, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

भानुको चुँदी, खहरे, सतीघाट फाँट, व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, माझ, गजौडे, सिसाघाट फाँट, म्याग्देको गुणादी, थर्पु, पसले, सेरा फाँट, शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवा फाँटलगायत विभिन्न पालिकाका फाँटमा धान खेती हुने गरेको छ । चैते धान विशेष गरी चिउरा उत्पादनका लागि उपयोगी हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर