–रत्न प्रसाद अनामणी
स्वस्थानी कथा वाचन सुरु गर्ने पूर्णिमा स्वस्थानी पूर्णिमाको रूपमा पनि परिचित छ । नेवारी समुदायमा यस पूर्णिमालाई छ्याला पुन्ही भनिन्छ । कसै कसैले मिला पुन्हीको रूपमा पनि मान्दै आएका छन् । वास्तवमा प्रत्येक हिन्दु धर्मावलम्बीहरूले त्यस दिनदेखि घरघरमा स्वस्थानी कथा वाचन सुरु गर्छन् । यस दिन नाला, बनेपा, पनौती, साँगा, श्री खण्डपुरलगायत काभ्रेका नेवारी बस्तीहरूमा आ–आफ्नो घरको नजिकैको दोबाटोहरूमा माटोका भाँडाहरू फुटाउने चलन रहेको छ । माटोको फुटाउने भएकै कारणले यस दिनलाई छ्याला पूर्णिमाको दिन भनिएको हो ।
माटोको भाँडाकुँडाहरू जम्मा पारी फुटाउने चलन लिच्छविकालदेखि नै चलिआएको मानिन्छ । वास्तवमा माटोको भाँडाकुँडाहरूको प्रचलन मानव सभ्यतासँगै विकसित हुँदै आएको हो । अरू कुनै पनि भाँडाकुँडा विकसित नभएको बेलादेखि नै मानवको आफ्नो सीपले विभिन्न प्रकारका माटाका भाँडाकुँडालगायत आफू बस्ने घर निर्माणको लागि इट्टा, घर छाउनको झिगटीलगायत थुप्रै वस्तुहरू एकपछि अर्को विकास गर्दै आएको देखिन्छ । मानव विकाससँगै हुर्किएका माटाका भाँडाकुँडाको चलन चल्दै आएको छ ।
स्वस्थानी पूर्णिमाको दिन भक्तपुरको चाँगुनारायणबाट कलश जात्रा सुरु गरिन्छ । उक्त जात्रामा तीन वटा कलशलाई तीन जनाले बोकी काठमाडौँको जमलमा ल्याउने गरिन्छ । ती तीन वटा कलशलाई चाँगुनारायण, लक्ष्मी र सरस्वतीको प्रतीकको रूपमा लिने गरेको पाइन्छ । जब जमलमा ती कलशहरू ल्याई पुर्याइन्छ । त्यस बेला त्यहाँ सरकारी पूजा गरी राजखडग, शार्दुलजंग पल्टन, नेवार पुरोहित राजोपाध्यायहरूका साथ कमला छि, असन, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्याइन्छ ।
हनुमान ढोका क्षेत्रमा रहेको महादेव मन्दिर अगाडी टोलका नेवार समुदायहरूले जम्मा गरी राखेको माटाका भाँडाहरू फुटाउने कार्य गर्दछन् । यो किन गरिन्छ भन्दा तीन कलश चाँगुनारायणबाट ल्याएका थिए । तिनीहरूलाई अपसगुन गर्नको लागी माटोका भाडा फुटाइन्छ । यसो गर्दा चाँगुनारायणबाट ल्याएका कलशहरू अपसगुनको बेला फर्किएर जाँदैनन् भन्ने जनविश्वास रहेको छ । यहीँ जनविश्वासले गर्दा यी माटाको भाडाहरू फुटाउँदै आएका छन् । त्यसपछि ती कलशहरू तलेजु भवानी मन्दिरमा पुर्याइन्छ, त्यहाँ पुगेपछि भव्य स्वागत गर्दै पूजा गरिन्छ ।
लिच्छविकालदेखि चल्दै आएको यो परम्परा भक्तपुर, थिमि, कोटेश्वर, भोटाहिटी, आसन, इन्द्रचोक, केलटोल र मखनमा मात्र सीमित नभै काभ्रेका नेवार बस्तीहरूमा पनि व्यापक छन् । काभ्रेमा चाहिँ किम्बदन्ती अलिकति फरक छ । छ्याला पूर्णिमाको दिन अदृश्य रूपमा काभ्रेका नेवार बस्तीहरूमा चाँगुनारायणबाट, चाँगुनारायण, लक्ष्मी र सरस्वती घुम्न आउँछन् भन्ने जनविश्वास रहेको छ । त्यस बेला अपसगुन गरे फर्केर जाँदैनन् र सधैँको लागि उतै (काभ्रेमै) बस्छन् भन्ने जनविश्वास रहेकोले हरेक वर्ष स्वस्थानी पूर्णिमाको दिन माटाका भाँडाकुँडा आ–आफ्नो घरको नजिकको दोबाटोमा फुटाउँदै आईरहेका छन् । नयाँ भाँडाकुँडाहरू दसैँ नजिक अन्न प्रशस्त घरमा भएको बेलामा भक्तपुर ठिमीका भाँडा व्यापारीहरूसँग अन्न साटेर लिने गर्छन् नालामा ।
अब बिस्तारै माटाका भाँडाहरू नपाइने भयो र यो चलन पनि दिनप्रति दिन लोप हुँदै गइरहेको महसुस हुन थालेको छ । भनिन्छ नेवार समुदायमा जन्मदेखि मृत्युसम्म छ हजार चार सय थरिका माटाका भाँडाहरू बनाइन्छ रे ! अब बिस्तारै माटाका भाँडाकुँडाहरू लोप हुँदै गइरहेका छन् । व्यवसाय र संस्कृतिलाई सँगसँगै प्रवर्द्धन गर्नुको अहिलेको आवश्यकता हो ।
वास्तवमा, हाम्रा परम्पराहरू र उत्पादन सम्बन्धबीच निकै नै बलियो गाँठो रहिआएको पाउँछौँ । प्रत्येक चाडपर्वलाई हेर्यौं भने एउटा समुदायको जीविका चलेको भेटिन्छ । भाँडाकुँडाहरू फुटाउने चलन एउटा आफैंमा हाम्रो इतिहास हो र यो हाम्रो उत्पादन सम्बन्धसँग जोडिएको अङ्ग पनि हो ।