२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सशक्त बालिका परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न

Nada
निस्ता कार्की
२०८२ असार ८ गते २१:१४
Shares
सशक्त बालिका परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न

कालीकोट : कालीकोटको नरहरिनाथ र सानी त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिएको सशक्त बालिका परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । उक्त परियोजना प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ । 

ncell

परियोजना संयोजक बलिराज शाहीका अनुसार यस परियोजनाले नरहरिनाथ गाउँपालिकाका ९ वटा वडामा र सानी त्रिवेणी गाउँपालिकाका ९ वटै वडामा कार्यसम्पादन गरिरहेको छ । गएको वर्षको प्रगति र आर्थिक प्रतिवेदन अनुसार परियोजनामा प्रयोग भएको कुल बजेट ३ करोड ७ लाख ६८ हजार ५४४ रुपैयाँ थियो, जसमा ३ करोड ७ लाख २४ हजार ५५० रुपैयाँ खर्च भएको पाइएको छ ।

सशक्त बालिका परियोजनाले शिक्षा, स्वास्थ्य, बालअधिकार, बाल संरक्षण, योन र प्रजनन् स्वास्थ्य र जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यक्रमहरूमा बजेट खर्च गरेको छ । यस वर्ष, परियोजना अन्तर्गत ५,०८६ जना बालबालिका लाभान्वित भएका छन्, जसमा २२ सय ५ जना बालिका, ११ सय २ जना अपांगता भएका बालबालिका र ४ हजार ९ सय ६५ जना दलित समुदायका विपन्न परिवारलाई सहयोग पुर्‍याइएको छ ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल शाहले परियोजनाले सामाजिक विकासमा ठूलो योगदान पुर्‍याएको भन्दै महिला विकासका क्षेत्रहरूमा यसको प्रभावलाई स्वागत गरे । उनले बालविवाहको विरुद्ध किशोरकिशोरीहरूलाई सचेत गराउने कार्यलाई सराहना गरे ।

नरहरिनाथ  गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले बालविवाह मुक्त जीवन जीउनको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको कार्यको मूल्यांकन गर्दै, परियोजनाको प्रभावकारिता बारे समुदायमा सकारात्मक प्रतिक्रिया व्यक्त गरे । 

नरहरिनाथ गाउँपालिकाका स्थानीय बासिन्दाले पनि परियोजनाका विभिन्न पहलहरूको सराहना गरेका छन् । बिक्रम विश्वकर्माले परियोजना अन्तर्गत बाल संरक्षणका कार्यक्रमलाई जनउपयोगी र सामाजिक रुपान्तरणमा आधारित भएको बताए । 

यस्तै, मंगलासैनी माविका अध्यक्ष उमेश बिष्टले परियोजनाले विद्यालयहरूको भौतिक पूर्वाधारमा गरेको योगदान र बालविवाह न्यूनीकरणका क्षेत्रमा गरेको कार्यलाई प्रशंसा गरे । 

सशक्त बालिका परियोजनाका मूल्यांकन अधिकृत प्रेम चोलागाईंले संस्थाले सबैको अभिप्राय र प्रतिक्रिया लिने प्रक्रिया र आगामी सुधारका उपायहरूको बारेमा जानकारी गराएका थिए । उनले भने,‘हामी सरकारको सहयोगी निकाय हौं, हामी परियोजना रहँदासम्म बस्छौं, तर भविष्यमा समाज रुपान्तरणको जिम्मा सरकारलाई नै लिनुपर्नेछ ।’ परियोजनाका अधिकृत रमिता कुमारी बटालाले भनिन्, ‘हामी सबैलाई मिलेर बालबालिकालाई सशक्त बनाउन मद्दत गर्नुपर्नेछ । यसका लागि सरकार, संघ–संस्था र स्थानीय निकायको सहकार्य आवश्यक छ ।’

यस परियोजनामार्फत स्थानीय स्तरमा बालविवाह, अपांगता भएका बालबालिका, बाल संरक्षण र योन स्वास्थ्यमा सुधार ल्याउने काम गरिनुका साथै, सामाजिक चेतना र जागरूकता फैलाउनको लागि निरन्तर प्रयास गरिने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर