–झलक शर्मा
विश्व फुटबल जगतमा यति बेला युरोकप २०२४ र कोपा अमेरिका २०२४ चर्चाको विषय रहेका छन् । सो प्रतियोगिताहरू अन्तिम चरणमा पुगेका छन् । युरोकपमा डिफेन्डिङ च्याम्पियन इटाली अन्तिम १६ बाट नै बाहिरिएको छ भने कोपा अमेरिकामा डिफेन्डिङ च्यापिएन अर्जेन्टिना भने ट्रफि जित्न संर्घषरत छ । दुवै प्रतियोगिताले नेपाली फुटबल समर्थकहरूको ध्यान केन्द्रित गराएको छ । अहिले छुट्टा छुट्टै महादेशमा चलिरहेको प्रतियोगिता भएता पनि विश्वकपमा नेपालको सहभागिता कहिले हुन्छ भन्ने कुरा समर्थकमा खुलदुली हुन सक्छ । यति बेला नेपाली फुटबल ओरालो लागेको छ । विश्वकप त के नेपालले सार्क मुलुकमा हुने साफ च्याम्पियनसिपमा पनि प्रभावकारी प्रदर्शन गर्न सकेको छैन । विगतको साख जोगाउनमा नै नेपाली फुटबललाई हम्यहम्य भएको छ । नेपाली फुटबलको भन्दा छोटो इतिहास भएको नेपाली क्रिकेटले भने विश्वकपमा दुई पटक सहभागी भइसकेको छ । तर, नेपाली फुटबलले भने विश्वकपको सपना पनि देख्न सकेको छैन । मुस्किलले सहभागिता जनाएका खेलमा पनि खराब प्रदर्शन रहिरहेको छ । हारलाई आत्मसाथ गर्नु त खेलाडीको पूर्वानुमान नै भइसकेको छ ।
खेलमा हारजित त हुन्छ नै तर, नेपालले जित्नका लागि भन्दा पनि लज्जास्पद हार नहोस् भन्ने अपेक्षा राख्छ । यस सन्दर्भमा नेपाली फुटबललाई प्रश्न तेर्साउन सकिन्छ । नेपाली फुटबलले जित्नका लागि किन खेल्दैन, प्रतियोगिताहरूको सामना गर्न किन डराउँछ ? नेपाली फुटबल समर्थकले अपेक्षा गरेअनुरूप खेल र परिणाम किन पस्कन सक्दैन ? नेपाली फुटबलमा बेथितिको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको उत्तर नेपाली फुटबल समर्थकले खोजिरहेका छन् । नेपाली फुटबलको वास्तविक अवस्था समर्थकलाई थाहा नभएको भने होइन तर, समर्थकले चाहँदैमा परिवर्तन भने हुँदो रहेनछ । नेपाली फुटबलको वस्तुस्थितिबारे थुप्रै बहस र घनीभूत छलफल हुनु आवश्यक थियो तर, सामान्य टिका–टिप्पणी, छलफलसमेत हुन सकेको छैन । नेपाली फुटबलमा रहेका समस्या समाधान गर्न, गल्ती कमीकमजोरी सुधार गर्ने समयमा उल्टै फुटबलका गतिविधि रोक्ने र अस्तित्व निमिट्यान्न पार्ने जस्ता गलत अभ्यासले स्थान पाएको देखिन्छ । फुटबलको विकास र विस्तारमा छलाङ मार्ने योजना त सार्वजनिक हुनै सकेको छैन ।
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ भने फुटबलको दुरावस्था बारेमा कानमा तेल हालेर बसेको छ । यति बेला नेपाली फुटबलका गतिविधि प्रायः शून्य छ । मुलुककै शीर्ष लिग सहिद स्मारक ए डिभिजन लिग निरन्तर सञ्चालन गर्न नसक्नु अब नयाँ रोग भएन । विभिन्न बहानामा लिग सार्ने, रोक्ने परिपाटी रहेको छ । यो वर्ष पनि तयारी अपुगको कारण देखाउँदै लिग नगर्ने निर्णय एन्फाले गर्यो । २०८० सालमा सञ्चालन गर्नु पर्ने लिगलाई कटौती गरी २०८१ को पुष देखि जेठसम्म सञ्चालन गर्ने गरी क्यालेन्डर बनाएको छ । यसले नेपाली फुटबल समर्थकलाई दुखी र चिन्तित त बनायो नै खेलाडी पलायनको समस्यालाई त झन् मलजल नै गर्यो ।
केही आर्थिक रूपमा सक्षम खेलाडी अमेरिका, अस्ट्रेलिया, युरोपियन राष्ट्रहरू र कमजोर आर्थिक अवस्थाका खेलाडी भने खाडी मुलुक पुगेको तितो यथार्थ छ । नेपालमा नै खेलेर देशको नाम राख्छु भन्ने खेलाडी भने स्थानीय स्तरमा हुने गाउँपालिका कप, मेयरकप जस्ता साना प्रतियोगितामा भुल्नु परेको छ । त्यस्तै, अखिल नेपाल फुटबल संघका तत्कालीन कार्यबाहक अध्यक्ष स्व ललितकृष्ण श्रेण्ठको स्मृतिमा यु–१८ फुटबल प्रतियोगिता पनि यो वर्ष अन्यौलता छ । त्यसैको सेरोफेरोमा यही असार ३० गते देखि एन्फा यु–१८ युथ लिग सञ्चालनमा ल्याउने भएको छ । उक्त प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् । यस युथ लिगले कति युवा खेलाडीलाई आकर्षण गर्छ र फुटबलको स्तरमा बढवा दिन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।
तर, एउटा प्रतियोगिता कार्यान्वयनमा ल्याउँदा अर्को प्रतियोगिता भुल्ने परिपाटी एन्फाको छ । एन्फालाई राजनीति गर्ने र आफ्नो स्वार्थपूर्ति गर्ने थलोको रूपमा निर्माण गर्दा समग्र नेपाली फुटबलको भविष्य अन्धकार बनेको छ । एन्फाका नेतृत्वकर्ताहरू अनावश्यक विवाद सिर्जना गरेर अन्यौलता प्रदर्शन गरेको अनुभूत गराउँछ । नेतृत्वलाई साथ र समर्थन नगर्ने, खुट्टा तान्ने, आफूले मात्र जस लिन खोज्ने प्रवृत्ति नेपाली फुटबलमा छ । आन्तरिक समन्वयको अभावका कारण कतिपय निर्णयहरू बाजिने गरेका छन् ।
एन्फामा आन्तरिक लोकतन्त्रको अभाव छ । नेतृत्वकर्ताले जे भन्यो त्यही मान्नु पर्ने, उनीहरूको निर्णय उपर टीकाटिप्पणी, विरोध गर्न नपाइने र गुनासो सुन्न नसक्ने बानी नेतृत्वकर्तामा छ । पक्ष विपक्षको कित्ताकाट हुँदा समर्थक माझ नेपाली फुटबलले राम्रो सन्देश दिन सकेको छैन । केही वर्षअघि एन्फाले लिग तालिकाको उत्कृष्ट छ टिमलाई नेशनल लिग नामक प्रतियोगितामा सामेल गराउने योजना सार्वजनिक गर्यो । त्यति बेला कोरोना महामारीका कारण नेशनल लिग हुन सकेन । पुन फुटबल क्रियाशील हुँदा भने उक्त नेशनल लिगको योजना नै एन्फाले बिर्सियो ।
सन् २०१८ देखि एन्फाले ग्रास रुट कार्यक्रमलाई अघि सारेको छ । ६ वर्षदेखि १२ वर्ष सम्मका बालबच्चालाई फुटबलमा सामेल गराउने, उनीहरूलाई सीप र गुणस्तर वृद्धिका लागी तालिम दिने, प्राविधिक क्षमता अभिवृद्धि गराउने लक्ष्य ग्रास रुट कार्यक्रमको रहेको छ । जुन यस कार्यक्रम ४५ जिल्लामा लागु गरिएको छ । लागु गरिएका जिल्लाका बालबच्चा तथा अभिभावकहरूले ग्रास रुटको बारेमा जानकारी पाएका छन् वा छैनन् भन्ने विषयप्रति एन्फाले अनुगमन तथा मूल्याङ्कन गर्नु आवश्यक छ ।
व्यावसायिक फुटबल भित्र्याउने हेतुले फ्रेन्चाइज लिग नेपाल सुपर लिग मुस्किलले दुई पटक मात्र सम्पन्न भएको छ । नेपाल सुपर लिग र सहिद स्मारक ए डिभिजन लिगका केही क्लब विच विवाद उत्पन्न हुँदा केही वर्ष यस लिगले पनि निरन्तरता पाउन सकेन । अन्यौलता र घाटा सहेर पनि नेपाल सुपर लिग भने सञ्चालन भयो तर, यसमा एन्फाले उपयुक्त तवरबाट मध्यस्थताको भूमिका निर्वाह गर्न सकेन । तत्कालीन नेपाली फुटबलका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र एन्फा पदाधिकारी बिचको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भयो । प्रशिक्षक अल्मुताइरीले खेलाडी छनौट देखि विविध विषयमा दबाब दिएको र स्वतन्त्र ढंगबाट काम गर्न नदिएको आरोप लगाएका थिए । प्रशिक्षक र एन्फा पदाधिकारीबिच विवाद चुलिदै गएपछि अनुशासन कमिटी पनि बन्यो । उक्त अनुशासन कमिटिको प्रतिवेदन निष्पक्ष भने आउन सकेन । अन्ततः प्रशिक्षक अल्मुताइरीले राजीनामा नै दिए । अल्मुताइरीको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिपको फाइनलसम्मको ऐतिहासिक यात्रा पार गर्यो । त्यति बेला नेपालको खेल आक्रामक र आकर्षक थियो । खेलाडीमा जितको भोक स्पष्ट देख्न सकिन्थ्यो । तर विवाद र असमझदारीले गर्दा नेपाली फुटबलले धेरै कुराहरू गुमायो ।
विगतका कमीकमजोरीलाई मनन गर्दै सुधारात्मक कार्यहरू गरी फुटबललाई चलायमान बनाउन सक्नुपर्छ । आन्तरिक लोकतन्त्रलाई सबलीकरण गरी सबै सदस्यहरूको विचारलाई एकीकृत गर्दै समस्या समाधान गर्नुपर्छ । खेलाडीको सीप क्षमता अभिवृद्धि गर्न प्रशस्त तालिम दिलाउन सक्नुपर्छ । खेलाडीको वृत्ति विकास, सामाजिक सुरक्षा, औषधि उपचार, उपदान जस्ता उत्प्रेरित कार्यक्रमहरू अविलम्ब लागु गर्नुपर्छ । रङ्गशालाको निर्माण तथा मर्मत सम्भार, प्रशिक्षण स्थलको व्यवस्थालगायत अन्य भौतिक संरचनाको निर्माण गरी खेलका लागी उपयुक्त वातावरण निर्माण गर्नुपर्छ । सबै जिल्लामा ग्रास रुट कार्यक्रम विस्तार गरी अब्बल खेलाडी उत्पादनमा ध्यान दिन जरुरी छ ।
एन्फालाई भ्रष्टाचारमुक्त संस्थाको रूपमा उभ्याउँदै फुटबलमैत्री संस्थाको रूपमा स्थापित गराउनु पर्छ । खेलाडी पलायनको समस्या समाधानका गर्न उपयुक्त योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्नुपर्छ । राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिताहरूको निरन्तर सञ्चालन गरी खेलाडीलाई खेलप्रति लगाव बढाउनु बढी बुद्धिमत्ता हुन्छ । खेलाडी छनौटलाई पारदर्शी बनाउँदै खेलको गुणस्तरमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । कुनै पनि खेल राष्ट्रका चिनारी हुन्छन् । यसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी आपसी भाइचारा कायम गर्न मद्दत पुर्याउँछ । खेलकुद क्षेत्रबाट पनि मुलुकलाई समृद्धिको बाटोमा लम्काउन सकिन्छ । तसर्थ, नेपाली फुटबलको गुणस्तर र गरिमा बढाउन फुटबलका सरोकारवालाहरू गम्भीर र संवेदनशील हुनु आवश्यक छ ।