काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरूविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा लगाएको छ ।
अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ ।
अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को अवधिमा संकलन भएको कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैंकमा दाखिला भएको देखिएको छ । बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा बदनियतपूर्ण तरिकाले हिनामिना गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले लेखा अधिकृत सुवेदी र अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ ।
त्यसैगरी, मतियारको भूमिका खेलेको आरोपमा बैंककी तत्कालीन काउन्टर प्रमुख मगरविरुद्ध भने २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।