२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

शिवालय गाउँपालिकालाई रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव

shivam cement
कुलेन्द्र शाही
२०८२ असार ९ गते १९:०६
शिवालय गाउँपालिकालाई रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीतिगत तथा कार्यक्रमगत तयारी भइरहेको बेला स्थानीयबासीहरूले गाउँपालिकालाई कृषि, शिक्षा र रोजगारमुखी बजेट ल्याउन सुझाव दिएका छन् । गाउँपालिकाले आह्वान गरेको छलफल कार्यक्रममा वडाका प्रतिनिधिहरू, नागरिक समाज, राजनीतिक दल लगायतले शिवालयमा कृषि विकासको सम्भावना उच्च भएकाले रोजगारी सिर्जना हुने गरी कृषि तथा व्यवसायमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

सहभागीहरुले शिवालयमा कृषि क्षेत्रको राम्रो सम्भावना रहेको भन्दै कृषि उत्पादन वृद्धि, कृषिमा आधारित र सीपमूलक रोजगारी सिर्जना हुने कार्यक्रमहरूमा बजेटको प्राथमिकता दिनुपर्ने बताएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले बताए । उनले शिक्षाको गुणस्तर सुधार र सीप आधारित शिक्षालाई जोड दिनुपर्ने माग स्थानीयहरुबाट आएको बताए ।

उनकाअनुसार स्थानीयस्तरबाट आएका सुझावलाई ध्यानमा राखेर यसपटकको बजेट, नीति र कार्यक्रम निर्माण गरिने छ । साथै चालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षको बजेट वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्षमा पालिकाले ४६ करोड ३ लाख ६२ हजार ४५ रुपैयाँको बजेट ल्याएको थियो । सो बजेट भूकम्पबाट क्षति भएका पूर्वाधारको पुनःनिर्माणमा केन्द्रित थियो ।

यसपटकको बजेट निर्माणमा कृषि उत्पादन वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग, सिंचाइ सुविधा विस्तार, बीउबिजनको पहुँच, पशुपालन, फलफूल तथा तरकारी खेतीलाई जोड दिनेगरी कार्यक्रम समावेश गरिने गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले बताए ।

उनले रोजगारीतर्फ सीपमूलक तालिम, स्वरोजगारमुखी कार्यक्रम, युवा उद्यम प्रवर्द्धन, आत्मनिर्भरता विकास कार्यक्रमजस्ता विषय समावेश गरिने बताए । शिवालय गाउँपालिकाको १६औँ गाउँसभा भोलि मंगलवार (असार १०) बस्दै छ । सो गाउँसभामार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ ।

ADV

सम्बन्धित खबर

Advertise