२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

प्रहरीमा शक्ति केन्द्रको हस्तक्षेप, अझै भएन ११ एसएसपीको पदपूर्ति

shivam cement
जीवन शर्मा
२०८२ असार १० गते ०६:४०
प्रहरीमा शक्ति केन्द्रको हस्तक्षेप, अझै भएन ११ एसएसपीको पदपूर्ति

काठमाडौं : नेपाल प्रहरीभित्र उच्च तहको बढुवामा हुँदै आएको राजनीतिक दाउपेच र शक्ति केन्द्रको हस्तक्षेपका कारण प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदपूर्ति हुन सकेको छैन ।
प्रहरीमा रिक्त ११ एसएसपी बढुवामा शक्ति सन्तुलन नमिल्दा ३ हप्तादेखि ती पद खाली छन् ।   

गत १६ जेठमा प्रहरी प्रधान कार्यालयले ११ एसएसपीलाई  प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेसँगै रिक्त रहेका पदमा बढुवा गरी पदपूर्ति गर्नुपर्ने सिफारिस समितिले अझै बढुवाको सिफारिस गर्न सकेको छैन् । ११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा छन् । 

गृहसचिव नेतृत्वको सिफारिस समितिले आवश्यक प्रक्रिया पर्‍याएर मन्त्रिपरिषद्मा बढुवा सिफारिस गर्नुपर्ने व्यवस्था छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सिफारिस समिति चाँडै प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताए ।  

तर, यस विषयमा समितिको बैठक समेत बस्न सकेको छैन् ।  सिफारिस समितिबीच कुरा नमिल्दा बढुवा सिफारिस ढिलाई भएको प्रहरी उच्च अधिकारीहरू बताउँछन् । रिक्त रहेका ११ एसएसपी बढुवाका सन्दर्भका गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयमा छलफल भएपनि प्रक्रिया अघि बढ्न नसकेको प्रहरीका एक अधिकारीले बताए ।

‘यसपटक आवश्यक पद भन्दा प्रतिस्पर्धीहरू धेरै छन्’, ती अधिकारीले मध्यान्हसँग भने ‘यो सँगै शक्ति केन्द्रहरूको पनि हस्तक्षप त हुने नै भयो । कोटा थोरै र बढुवाका आकांक्षी बढी देखाएर शक्ति केन्द्रले सकसपूर्ण अवस्था सृजना गर्न खोजेका छन ।’

गृहमन्त्री रमेश लेखक र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नौ भूगोलका एसपीहरूलाई बढुवा गर्न चाहेका छन । यता प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटकालाई च्याप्न खोज्दा बढुवा प्रक्रिया नै चेपुुवामा परेको प्रहरी अधिकारीहरूको गुनासो छ । 

‘नियम मिचेर जुनियरलाई अघि बढाउने कुरामा प्रहरी महानिरीक्षक दीपक थापा तयार छैनन’, उनले भने ‘तर राजनीतिक नेतृत्वले पालो मिचेर जुनियरलाई अघि बढाउन खोज्दा बढुवा सिफरिस रोकिएको हो ।’ 

नेपाल प्रहरीमा जसको शक्ति उसको भक्ति हुने गरेको उनको भनाइ ।  

१६ जेठमा  एसएसपी  सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङलाई बढुवा गरेर डिआईजी बनाएपछि उनीहरूको ठाउँ हालसम्म खाली रहेको हो ।  

डीआईजी बढुवा गर्दा वरीयतालाई ख्याल गरेका महानिरीक्षक थापाले प्रहरीका सबै अधिकृत बढुवामा बलमिच्याई हुन नदिने पक्षमा रहेको प्रहरी प्रधान कार्यालयको दाबी छ । यद्यपि उनले पनि भविष्यमा कोही न कोही उत्तराधिकारी बनाउने चलखेल गर्ने कुरालाई अस्वभाविक मान्न नसकिने कतिपय प्रहरी अधिकृतहरूको भनाइ छ । 

एकै पटक एसएसपी भएका १२ जना मध्येबाटै ११ जना डीआईजीमा बढुवा भएका थिए । तर यसपटक एसएसपी हुने लाइनमा रहेका सिनियर एसपीहरू विवादित छन् । 
२०५८ सालमै प्रहरी निरीक्षकमा भर्ना भएर एसपीमा बढुवा भएका टोली समेतलाई प्रतिस्पर्धीमा ल्याउने राजनीतिक नेतृत्वको तयारी छ । हाल प्रतिस्पर्धामा देखिएका ३३ एसपीमध्ये विमल बस्नेत सबैभन्दा सिनियर हुन । 

तर, उनको ५ वर्षे बढुवा रोक्काको कारबाही सकिएको छैन । यही कारण यसअघि पनि बढुवामा छुट्दै आएका बस्नेत यसपटक पनि बढुवा हुने सम्भावना कम छ । एसपीको वरीयताको दोस्रो र तेस्रो नम्बरमा रहेका प्रकाश रानाभाट र कमल थापासमेत विवादित भएका कारण यसअघिको बढुवामा छुटेका थिए । यसअघि उनीहरूसँगै एसपी भएकाहरू एसएसपीमा बढुवा भइसकेपछि कारबाहीकै कारण उनीहरू छुटेका थिए । 

एसपी तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत २०५६ कै प्रहरी निरीक्षक हुन ्। उनीहरूसँगै एसपी भएका ११ जना यसअघि नै एसएसपी भइसकेका छन् । २०७७ वैशाखमा २४ जना डिएसपी एकसाथ एसपीमा बढुवा भएका थिए । त्यसमध्ये होविन्द्र बोगटी, वेद विष्ट, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जय सिंह थापा, महेन्द्र खड्का, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल र राजेन्द्रप्रसाद धमला एसएसपीमा बढुवा भइसकेका छन् । 

तर उनीहरूसँगै एसपी भएका तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेतसँगै दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल र दयानिधि ज्ञवाली एसपीमै कार्यरत छन् । उनीहरू यसपटक एसएसपी तीव्र दौडमा छन् । ती मध्ये केदार खनाल र रामप्रकाश साह राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुन । यसपछि २०७७ माघमा एसपी भएका अधिकारीहरू पनि एसएसपीको प्रतिस्पर्धामा रहेको बताउँछन् । 

उनीहरू एसपीमा पछिपरे पनि भर्ना भने २०५८ सालमै भएका प्रहरी अधिकृत हुन । उक्त टोलीबाट भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् । 

२०७८ मंसिरमा ८ जना एसपी भएका मध्ये २०५८ सालको ब्याचका जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डितसहित ५ जना एसपी एसएसपीको प्रतिस्पर्धामा छन् ।  सरकारले प्रहरीमा कहिले वरीयता अनुसार र कहिले छानीछानी बढुवा गर्दै आएको छ । यसपटक पनि वरीयतालाई मिच्न खोज्दा बढुवामा समस्या देखिएको हो ।  

ADV

सम्बन्धित खबर

Advertise