रौतहट : रौतहट देवाही गोनाहीमा साइबर अपराध सम्बन्धी चार दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजना र देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा तालिम सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । समाजमा बढ्दो साइबर अपराध न्यूनीकरण गर्ने र विशेष गरी विद्यार्थी तथा युवा वर्गलाई सचेत गराउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा कक्षा ८ देखि १० सम्मका १५० भन्दा बढी विद्यार्थी, पाँच जना शिक्षक र पाँच जना स्थानीय प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रशिक्षक प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले सहभागीहरूलाई साइबर अपराधका स्वरूप, बच्ने उपाय, कानुनी प्रावधान र सुरक्षित इन्टरनेट प्रयोगबारे व्यवहारिक जानकारी गराएका थिए । उनले सामाजिक सञ्जालको सही प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, ह्याकिङ लगायत विषयमा विस्तृत प्रशिक्षण दिएका थिए ।
सृजनात्मक समाज कल्याण केन्द्र नेपालका अध्यक्ष विवेक शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु कुमार दासको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि दासले प्रविधिको सही प्रयोग गर्दै साइबर अपराधबाट आफू र समाजलाई सुरक्षित राख्न तालिममा सिकिएका कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
सभापति शर्माले तालिम सफल बनाउन नगरपालिका, प्रशिक्षक, सहभागीहरू र स्थानीय समुदायलाई धन्यवाद दिंदै देवाही निवासी अमरेश पटेलप्रति पनि विशेष आभार व्यक्त गरे । साथै, आगामी दिनमा पनि यस्ता सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सहभागीहरूले तालिमलाई अत्यन्तै प्रभावकारी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका थिए ।