२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘प्यारोल’बाट ३७ जना कैदीहरू छुटे

Nada
२०८२ असार ११ गते १३:०६
Shares
‘प्यारोल’बाट ३७ जना कैदीहरू छुटे

चितवन : जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीमध्ये चालु आर्थिक वर्षमा ३७ जना ‘प्यारोल’बाट छुटेका छन् । असल आचरण भएकालाई कानुनअनुरूप कैद छुट दिई पारिवारिक पुनर्मिलन गराउने व्यवस्थाअन्तर्गत उनीहरू छुटेका हुन् ।

ncell

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ । जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब वा अन्य ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अंगभंग गरेको, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रूर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा सजाय पाएको, मानवताविरुद्धको अपराध र राज्यविरुद्धको अपराधजस्ता कसुरदारले भने प्यारोल सुविधा नपाउने कानुनी व्यवस्था छ ।

जिल्ला कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार लागुऔषध र सवारी ज्यानका कैदीहरूले प्यारोल सुविधा लिएका हुन् । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूलाई प्यारोलमा राखिएको हो । उनले भने, “प्यारोल अधिकृतले संघीय प्रोवेसन तथा प्यारोल बोर्डलाई सिफारिस गरेपछि प्यारोल बोर्डको बैठकले निर्णय गरी पठाउने गर्दछ ।”

बोर्डको निर्णय आएसँगै सजाय तोक्ने अदालतमा निर्णयसहित पठाएर उनीहरूलाई अदालतको आदेशले यो सुविधा दिइने गरिएको ढुंगानाले बताए । प्यारोल अधिकृतको निगरानीमा समाजमा जीवनयापन गर्न सहज हुने गरी सुविधा दिइएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुंगानाका अनुसार कारागारबाट एक वर्षभन्दा कम सजाय भएका ५२ जनाले कैद बराबरको राजस्व बुझाएर छुटेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता दफा १५५ अनुसार उनीहरूले सुविधा पाएका हुन् । उनीहरू चालु आर्थिक वर्षको साउन यता छुटेका हुन् ।

उनीहरू दैनिक रु. ३०० का दरले राजस्व अदालतमा बुझाएर छुटेको ढुंगानाले जानकारी दिए । उनले भने, “राज्यले दिएको सुविधा कैदीले उपभोग गरिरहेका छन् ।” यी सुविधाले गर्दा कारागारमा कैदीबन्दीको चाप केही हदसम्म कम गरेको ढुंगानाले बताए ।

कारागार कार्यालयमा चितवनमा अहिले ७१० कैदी बन्दी रहेका छन् । त्यसमध्ये ४२ महिला र ६६८ पुरुष हुन् । उनीहरूसँगै तीन जना आश्रित बालबालिका रहेका छन् । यस्तै ३५ महिला र ४७० पुरुष कैदी बन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर