२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

नागढुंगा–मुग्लिन सडक : पहिलो खण्डको कालोपत्रेको काम सकियो

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते १६:५०
नागढुंगा–मुग्लिन सडक : पहिलो खण्डको कालोपत्रेको काम सकियो

काठमाडौं : ३ खण्डमा विभाजन गरेर स्तरनोन्नतीको काम सुरु गरिएको नागढुंगा– नौबिसे सडक खण्ड अन्तर्गतको पहिलो खण्डको कालोपत्रेको पहिलो तहको काम सकिएको छ ।

नागढुंगादेखि मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । १२.२६ किमि दुरीको पहिलो नागढुंगा–नौबिसे खण्डमा अहिले १२.१ किमि सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५.५ किमि सकिइसकेको छ । यो खण्डमा तेस्रो तहसम्म सडक कालोपत्र गरिन्छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बाँकी तह निर्माणको काम भने बर्खापछि मात्र थालिने बताए । कार्यालयलका अनुसार एक तह मात्रै कालोपत्रे मात्रै गर्दा पनि सवारी साधन चलाउन भने मिल्छ ।

यही खण्डमा झ्याप्ले खोलाको सय मिटर खण्डमा मात्र कालोपत्र गरिएको छैन । सडक विभागको तथ्यांकअनुसार यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । कार्यालयका अनुसार झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोब स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ ।

यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र गरिने छ । ओझाका अनुसार यो खण्ड पहिरोको जोखिम क्षेत्रभित्र पर्छ । अहिले यस खण्डमा दुईतर्फी नै पहिलो तहको कालोपत्रको काम सकिएको छ । उक्त खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत रहेको उनले बताए ।

नागढुंगा– नौबिसे सडक खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले पाएको छ । २९ चैत २०७८ मा भएको यस प्याकेजको निर्माण ठेक्का सम्झौताअनुसार २७ जेठ २०८१ भित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो, तर लक्ष्यअनुसार काम हुन सकेन । फेरि थपिएको म्याद १० साउन २०८२ सम्मका लागि छ । तर साउनसम्म काम सकिने अवस्था छैन ।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले यही खण्डको खानी खोलामा पैदलयात्रीका लागि अपांगमैत्री आकासे पुल बनाउन लागिएको बताए । ‘उक्त ठाउँमा ९ वटामध्ये ८ वटा घर भत्काइसकिएको छ,’ उनले भने, ‘ह्विलचियर गुडाएर तलमाथि गर्न मिल्ने अपांगमैत्री पुल बनाउन लागिएको हो ।’ तर अकासे पुल बनाउन लाग्ने समय थप गरिने उनको भनाइ छ ।
दोस्रो खण्डमा नौबिसे–मलेखु खण्ड पर्छ । यसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यस खण्डको काम जेठ २०८२ भित्र सक्नुपर्ने थियो, उक्त सकिएन । अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ । यस खण्डमा दुवैतर्फी गरेर १३ किमि सडकमा पहिलो तहको कालोपत्र भएको छ ।

नागढुंगादेखि नौबिसेसम्म ४.७ किमि र नौबिसेदेखि मलेखुसम्म १७.५ किमि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइनेछ । तीन लेन भएको ठाउँमा एक लेन ‘क्लाइम्बिङ’ बन्ने र मुग्लिनबाट काठमाडौंतर्फ आउँदा उकालो पर्ने ठाउँमा मालवाहक सवारीका लागि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइएको उनको भनाइ छ । क्लाइम्बिङ लेन बनिसकेको छ, त्यो कुन लेन हो भनेर तेस्रो तहको कालोपत्र सकिएपछि मार्किङ गरेर छुट्याइने आयोजनाले जनायो ।

यस्तै तेस्रो खण्डमा मलेखु–मुग्लिन खण्ड पर्छ । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३१ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले यस खण्डमा ८ किमि कालोपत्र गरिएको र बजार क्षेत्रमा चार लेन सडकमा कालोपत्र गरिएको बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise