२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जन्मिनेबित्तिकै बच्चाको खातामा वार्षिक १५ हजारसम्म

Nada
२०८२ असार ११ गते १७:१२
Shares
जन्मिनेबित्तिकै बच्चाको खातामा वार्षिक १५ हजारसम्म

खोटाङ : साकेला गाउँपालिकाले जन्मनासाथ बच्चाको नाममा रकम बचत गर्ने भएको छ । 

ncell

आगामी साउनदेखि जन्मिने बच्चाको नाममा रकम जम्मा गर्ने कार्यक्रम १५औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘नवजात शिशु बचत योजना’ अन्तर्गत एसबीआई बैंकसँगको सहकार्यमा खाता खोली प्रत्येक वर्ष १० देखि १५ हजारसम्म जम्मा गरिने छ । उक्त रकम वार्षिक रूपमा बढाउँदै लगिने समेत राईले बताएका छन् । खोलिएको खातामा १८ वर्षको उमेरसम्म पालिकाले आन्तरिक आम्दानीबाट व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयमै जन्मदर्ता गराएको हुनुपर्ने, कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाइँ सरेर अन्यत्र जान नपाइनेलगायतका मापदण्ड तयार गरिने राईले बताएका छन् । यसले बालबालिकालाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार तयार गर्ने राईको भनाइ छ । ‘यो कार्यक्रमले अस्पतालमा बच्चा जन्माउने, समयमा जन्मदर्ता गराउने र गाउँकै सामुदायिक विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्छ भन्ने आशा लिएको छु,’ राईले भने, ‘यसले बालबालिकालाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार तयार गर्नेछ भन्ने लागेको छ ।’

साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ३० लाख ३९ हजार ६५९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले चालुतर्फ २७ करोड ४७ लाख एक हजार ६९ रुपैयाँ र पुँजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार ५९० रुपैयाँ बराबरको बजेट सभामा प्रस्तुत गरेकी छन् ।

वित्तीय समानीकरण अनुदानअन्तर्गत ६ करोड ८९ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ३२ लाख ५६ हजार ६५९, सशर्त अनुदानतर्फ १४ करोड ४ लाख, सशर्त अनुदान पुँजीगततर्फ १ करोड ३८ लाख, संघीय सरकारबाट प्राप्त समपूरक अनुदानतर्फ २ करोड २२ लाख, विशेष अनुदान चालुतर्फ १ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख ९ हजार, सवारी कर बाँडफाँडबाट ४९ लाख ९० हजार, प्रदेश सशर्त अनुदानतर्फ ७५ लाख ६५ हजार, प्रदेश सरकार पुँजीगततर्फ १ करोड ७२ लाख ५९ हजार, समपूरक अनुदान पुँजीगततर्फ १ करोड ६० लाख, जिल्ला समन्वय समितिबाट साझेदारी वापत १८ लाख, मालपोत कार्यालयबाट घरजग्गा दर्ता शुल्क बाँडफाँडबापत १ लाख ५० हजार, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करबापत १० हजार तथा गाउँपालिकाको प्रक्षेपित राजस्व रकम ३० लाख, आ.व. २०८१÷८२ बाट सरेर आउने बैंक मौज्दात १ करोड २५ लाख रुपैयाँ प्रक्षेपित आय अनुमान गरिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर