२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

महाधिवेशनमा जुट्यो एमाले, बहसमा ७० वर्षे उमेरहद र नेतृत्वमा दुई कार्यकाल

shivam cement
दिवाकर अधिकारी
२०८२ असार १२ गते ०६:३५
महाधिवेशनमा जुट्यो एमाले, बहसमा ७० वर्षे उमेरहद र नेतृत्वमा दुई कार्यकाल

काठमाडौं : नेकपा एमाले ११ औं महाधिवेशनको तयारीमा जुटेको छ । यस निम्ति बुधबार बसेको एमाले सचिवालय बैठकले शीर्ष तीन नेतालाई जिम्मेवारी नै तोकेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन तयार गर्ने, उपाध्यक्ष विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ । 

विधान महाधिवेशनले विधान टुंगो लगाउँछ र त्यसपछि नेतृत्व चयन हुनेछ । एमालेको विधान महाधिवेशन आगामी भदौमा हुँदैछ । उक्त विधान महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार पेस गर्नेछन् । उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

एमालेले विधान महाधिवेशन पछि नेतृत्व चयनको गृहकार्य अगाडि बढाउने गरेको छ । एमाले महाधिवेशनको तयारीमा जुट्दै गर्दा नेतृत्वको ७० वर्षे उमेरहद र दुई कार्यकालको मुद्दा बहसमा आएको छ । यी दुवै प्रावधान केपी शर्मा ओलीको हकमा लागू हुने भएकाले पनि बहस चर्किँदो छ ।

केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसके । ७० वर्ष उमेर कटिसके । ओलीले नेतृत्वमा दोहोरिने चाहना राखेकाले पनि दुवै प्रावधानबारे विधान महाधिवेशनमा छलफल हुने नेताहरू बताउँछन् । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली जतिपनि नीतिगत विषय आएका छन् त्यसउपर महाधिवेशनमा छलफल भएर टुंगो लाग्ने बताउँछन् । 

उनकाअनुसार उमेर हद र दुई कार्यकालको विषय पनि महाधिवेशनले नै टुंगो लगाउनेछ । उमेर हद र दुई कार्यकालको विषयमा के गर्ने भनेर विधान महाधिवेशन प्रतिनिधिहरूले निर्णय गर्ने छन् । 

‘हाम्रो पार्टीको फैसला गर्ने सर्वोच्च निकाय विधान महाधिवेशन भएकाले यसबारे आवश्यक निर्णय विधान महाधिवेशन गर्नेछ’, बुधबारको पार्टी सचिवालय बैठकपछि ज्ञवालीले भने । 

ज्ञवालीका बुझाइमा नीतिगत विषयलाई लिएर धेरै अनुमानहरू गर्नु या सिद्धान्तको विषय बनाउनु जरुरी छैन । उनको नजरमा उमेर हद र दुई कार्यकालको विषय सिद्धान्तको पनि विषय होइन ।

मार्क्सवादले उमेर हद राख्नुपर्ने र राख्नुनपर्ने केही नभएको भनेर उनले कटाक्ष गरे । एमालेले मार्क्सवाद मान्ने भन्दै उनले मार्क्सवादले उमेर हद राख्नुपर्छ नभनेको, राख्न हुन्न पनि भनेको भनेर कटाक्ष गरेका हुन् । ज्ञवाली थप्छन्, ‘उमेर हद राख्नुपर्छ भन्नेहरू भयंकर क्रान्तिकारी र नराख्नुपर्छ भन्नेहरू अक्रान्तिकारी होइन ।’ 

ज्ञवालीका नजरमा उमेर हद र दुई वर्षे कार्यकालको प्रावधानको हद तत्कालिन आवश्यकताले सिर्जना गर्ने विषय हो । विगतमा एमालेले ७० वर्षे उमेर हद राख्ने निर्णय गरेको थियो । विगतको यस्तो बाधक भएको महसुस पार्टी सचिवालय र केन्द्रीय कमिटीले गरेपछि स्थगन गर्ने निर्णयमा पुगिएको उनले स्मरण गरे । 

महाधिवेशनको तयारीमा जुटेको एमालेले पार्टी सदस्यता नवीकरणका लागि १५ दिन म्याद थपेको छ ।  यही अब असार १५ गतेसम्म प्रदेश र असार मसान्तसम्म केन्द्रमा नवीकरणको विवरण आइसक्नुपर्ने निर्णय सचिवालय बैठकको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise