पर्वत : पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।
चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई र गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गरेका छन् ।
चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा रु. १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिए ।
प्रतिगाई रु. दुई हजार र प्रतिहल गोरु रु. आठ हजारका दरले अनुदान वितरण गरिएको उनले बताए । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो ।
स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । गाउँपालिकाभित्र गाई र हलगोरू पाल्ने कृषकको सङ्ख्या समेत बर्सेनि बढ्दै गएको छ ।
व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उनले बताए ।
यो कार्यक्रममार्फत आगामी आव विसं २०८२/८३ मा पनि रु १३ लाख विनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव विसं २०७९/८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरू पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।