काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल भइने बताएका छन् । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको उनले बताए ।
उनले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।
लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको उनले बताए । महानिरीक्षक थापाले नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशत बढीले बरामद गरेको जानकारी दिए ।
उनले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।