काठमाडौं : सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने जानकारी दिएका हुन् ।
उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने उनको भनाइ थियो ।
गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । हामी लागुऔषधलाई नियन्त्रण गर्नका लागि तपाईंहरुले भन्नुभए जस्तै छिट्टै नै छुट्टै विभागको स्थापना गर्नेछौं । म यो घोषणा गर्दछु । आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ । म यो आग्रह गर्न चाहन्छु । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको छ । ’
गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए । लागुऔषध आफैंमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको बताए ।