काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्यायपरिषद्को सदस्यमा प्रस्तावित सदस्यविरुद्ध ७ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसबारे जानकारी गराएको हो ।
बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालविरुद्ध सात जनाले उजुरी दिएको जानकारी दिइन् ।
सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताइन् । त्यस्तै १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको उनले बताइन् ।
उनले भनिन्, ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषदमा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’
न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित नेपालविरुद्ध ५ वटा उजुरी परेका छन् । अन्य दुुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशविरुद्ध परेका हुन् । प्रसतावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरुलाई वितरण समेत गरिएको छ ।