कालीकोट : कालीकोटका ९ वटै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । ३ नगरपालिका र ६ गाउँपालिकाले आव ०८२/०८३ का लागि ३ अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३ सय २९ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समयसीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यसअघि आधाजसो स्थानीय तहको बजेट समयसीमा कटेपछि मात्र आउने गथ्र्यो ।
सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४१ करोड ९२ लाख ६२ हजार ४१ रुपैयाँ ४६ पैसाको बजेट सार्वजनिक गरिन् ।
यतिबेला तिलागुफा नगरपालिकाले डिजिटल हाजिरी, नरहरिनाथले विद्यालय नर्स, पचाल झरनाले डाक्टर पढ्न छात्रवृत्ति दिने, सान्नित्रिवेणीले शिक्षा र कृषिमा प्राथामिकता दिँदै जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गराउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गएको वर्ष कालीकोटका ९ वटै पालिकाले केही महत्वाकांक्षी बजेट ल्याएका थिए । पालिकाको आन्तरिक स्रोत नभएका कारण गाउँ तथा नगर सरकारले ल्याएको बजेटअनुसारको काम नभएको नागरिक अधिकारकर्मी दमनराज बमले बताए ।
प्रत्येक नागरिकले जिल्लाका ९ वटै पालिकाले गरेका कामको हिसाब र उपलब्धि खोज्न सुरु गरेकोले जनमुखी कार्यक्रम ल्याउनै पर्ने तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
त्यस्तै, पचाल झरना गाउँपालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना सार्वजनिक गरेको पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्निले बताए । उनको भने, ‘पालिकाले ४३ करोड ८४ लाख ३९ हजार ३ सय ५२ रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले ४७ करोड २२ लाख ८२ हजार ५ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । खाँडाचक्र नगरपालिको ५३ करोड ५५ लाख ५५ हजार ९ सय २० रुपैयाँको बजेट प्रस्तुत गर्दै नगरप्रमुख कमलबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
जिल्लामै सबैभन्दा बढी ७० करोड १४ लाख ९ हजार ७ सय १० रुपैयाँको बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पु¥याउने, अर्गानिक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उप–प्रमुख महेन्द्रबहादुर शाहीले बताए । नरहरिनाथ गाउँपालिकाले ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । पालिकामा पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका उपाध्यक्ष कमल शाहले बताए । पलाता गाउँपालिकाले ४८ करोड २३ लाख ३२ हजार ८ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको गाउपालिका उपाध्यक्ष विष्णु रोकाया इन्द्रले बताए ।
यस्तै शुभ कालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार ४ सय रुपैयाँ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले प्रस्तुत गरिन् । उनले भनिन्, ‘भौगोलिक रूपमा अति नै विकट रहेको शुभकालिकामा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई लक्षित गरी बजेट विनियोजन गरिएको छ । महाबै गाउँपालिकाले ३५ करोड ८७ लाख ४७ हजार ९ सय ६६ रुपैयाँ बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले बताए ।