अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ऐतिहासिक लामपाटी दरबार परिसरको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अहिले १ दशमलव ५ रोपनीमा सीमित रहेको दरबार क्षेत्रको करिब २१ रोपनी अतिक्रमित जग्गा कानुनी प्रक्रियाबाट भएपनि फिर्ता गराउने बताए ।
रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशद्वारा लामपाटी दरबार परिसरमा आयोजित ‘ऐतिहासिक लामपाटी दरबारको संरक्षण र प्रवर्द्धनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रेष्ठले दरबार क्षेत्रको संरक्षणमा नगरपालिकाले अग्रसर भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
उनले जंगबहादुर राणाको जन्मस्थल लामपाटी दरबार क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजना पनि सुनाए । ‘इतिहास बोकेको सम्पदा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,’ श्रेष्ठले भने, ‘अतिक्रमण अन्त्य गर्न जनसहभागिता र कानुनी प्रक्रिया दुवैमार्फत अघि बढ्छौं ।’
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका निवर्तमान प्रमुख पिताम्बर शर्मा भुसालले राज्यले मथुराको ऐतिहासिक महत्व बुझ्न नसकेको गुनासो गरे । उनले जग्गा फिर्ताका लागि राज्यले तत्काल कदम चाल्नुपर्नेमा जोड दिए ।
छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जिल्लाका सम्पदाहरूको एकीकृत संरक्षण र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
सन्धिखर्कका निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसालले सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्य गम्भीर र जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले योजनाबद्ध विकासका लागि डिपिआर तयार पारेर काम अगाडि बढाउनुपर्ने बताए ।
छत्रदेव–२ का निवर्तमान अध्यक्ष तथा बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले दरबार क्षेत्रको जग्गा खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायले चासो नदिए जनस्तरबाटै प्रतिवाद गर्ने चेतावनी दिए ।
अन्य वक्ताहरूले लामपाटी दरबारको मूलगेटमा जंगबहादुर राणाको शालिक निर्माण, सम्पदाको पुरातात्त्विक शैलीमै मर्मत, धार्मिक तथा पर्यटन प्रवद्र्धनमा बल दिनुपर्ने सुझाव दिए । उनीहरूले ऐतिहासिक सम्पदाबाट रोजगारी, पर्यटन र स्थानीय समृद्धिको सम्भावना औंल्याए ।
कार्यक्रममा गोपेश्वर पिठका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू, राजनीतिक दलका प्रतिनिधि तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो । पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक माधवराज चुँदालीले कार्यपत्र प्रस्तुत गरेका थिए । रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसालले सञ्चालन गरेका थिए ।