रौतहट : रौतहट वृन्दावन नगरपालिकाको नगरसभा रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा दायर भएको रिट खारेज भएको छ । वृन्दावन नगर उप–प्रमुख संगीता देवी रामले केहीदिन अघि मात्र उच्च अदालतमा नगरसभा स्थगित गर्नका लागि रिट दायर गराएकी थिइन् ।
अदालतमा रामले रिट दायर गरेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले असार १३ गतेसम्मका लागि नगरसभा स्थगित राख्न अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दाको पेसी शुक्रबार लागि तोकिएको थियो । नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै उक्त मुद्दाको पेसी असार १३ गतेका लागि तोकिएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले नगरसभा रोक्न नमिल्ने भन्दै दायर गरिएको रिट खारेज गरेको हो ।
अदालतको आदेशपछि वृन्दावन नगरपालिकाको नगरसभा रोक्नका लागि भएको अन्तरिम आदेश बदर भएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले उपमेयर रामको रिट खारेज गरिदिएपछि अब वृन्दावन नगरपालिकाको नगर अधिवेशन गर्ने बाटो खुल्ला भएको छ । वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले गएको असार १० गते नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन नगरसभाको आह्वान गरेका थिए ।
नगर प्रमुख कुर्मीले नगर अधिवेशनको मिति तोकेपछि उपमेयर रामले नगर अधिवेशन रोक्न पाउनुपर्ने भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेकी थिइन् । त्यसकारण वृन्दावन नगरपालिकाले यस वर्ष सरकारले नगर अधिवेशन गर्न तोकेको समय असार १० गते नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेन ।
तर अदालतले नगरसभा स्थगित राख्न दायर गरिएको रिट खारेज गरेपछि अब छिट्टै नगर अधिवेशन आह्वान गर्ने वृन्दावन नगरपालिकाको तयारी छ । असार मसान्त भित्रमै नगर अधिवेशन गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन आफूहरु तयारी थालेको वृन्दावन नगर प्रमुख कुर्मीले बताएका छन् । नगरलाई नै बन्धक बनाइ अस्तव्यस्त बनाउने नियतले दायर गरिएको रिट अदालतले खारेज गरी आफूहरुलाई न्याय दिलाएको उनले बताए ।