दोहा कतार : नेपाल मगर संघ, शाखा कतार (केन्द्रीय समिति) को १६औं महाधिवेशन तथा २५औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा न ७ निवासी समीर थापा मगरको अध्यक्षतामा आगामी एक कार्यकालका नयाँ कार्यसमिति सर्बसहमतिमा चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा देवी कुमारी मगर, द्वितीय उपाध्यक्षमा रबिना मगर, महासचिव पाण्डप थापा मगर, उपमहासचिव दीपक एक्चाइ मगर, सचिव मन प्रसाद राना मगर, संगठन सचिव दुर्गा दर्लामी मगर, कोषाध्यक्ष ओम थापा मगर, सह कोषाध्यक्ष तुषार पुन मगर, महिला संयोजक सीता राना मगर, सांस्कृतिक संयोजक दान आले मगर, भाषा तथा लिपि संयोजक दिल रोका मगर रहेका छन् ।
समितिका सदस्यहरूमा चेत बलम्पाकी मगर, दिल माया राना मगर, नारायण खपाङ्गी मगर, सन्दीप दर्लामी मगर, हुम बहादुर थापा मगर, मान बहादुर घर्ती मगर, राज आले मगर, सन्तोष राना मगर र विनीता थापा मगर रहेका छन् िनिर्वाचन समितिका संयोजक विवेक पुलामी मगरले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
खुल्ला सत्र सफल बनाउन संघले आमन्त्रण गरेका र शुभकामना मन्तव्यका लागि पोडियम उपलब्ध गराएसँगै बोल्ने वक्ताहरूले एनआरएनए एनसीसीप्रति सद्भाव सहित कटाक्ष गर्दै आफ्नो पक्षमा भोट समेत मागे ।
आयोजकले खुल्ला सत्रलाई मनोरञ्जन पूर्ण बनाउन सागीतीक प्रस्तुतिहरू जोडी रहेपनि वक्ताहरूले भाषण न छोटाउन नै सके न एनसीसीप्रति कटाक्ष गर्न नै कम गरे । आफूले आफ्ना भाषणमा प्रश्न गर्ने तर जवाफ नसुनी कुलेलाम ठोक्ने रोग यहाँपनि देखियो ।
कयौँ वक्ताले उठाएका सवालको जवाफ संस्थागत रूपमा एनसिसि कतारको तर्फबाट राख्न प्रथम उपाध्यक्ष कृष्ण पन्थी पोडियममा पुगे ।
उनी त्यहाँ पुग्दा सामाजिक व्यक्तित्व तथा एनआरएनएका संस्थापक सागर नेपाल बाहेक ड्यासमा कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदी, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारी र कार्यक्रमका सभाध्यक्ष रेसम आले मगर सहित आयोजक संघका उच्च पदाधिकारी मात्र आसिन थिए ।
प्रथम उपाध्यक्ष पन्थीले आफ्ना धारणा राखेर बाहिरिनेहरूप्रति लक्षित गर्दै केही कटाक्ष गरे पनि एनसीसी कतारको तेस्रो परिषद् भेला एनआरएनए अभियानका अग्रजकै अनुरोधमा रोकिएको बताए ।
उनले आफैले निर्माण गरेको कार्यसमितिलाई असफल बनाउन अग्रज लागिपरेको बताउँदै कार्यसमिति एकै ठाउँमा हुँदा पनि परिषद् भेला आयोजना गर्न सकस बनिरहेको बताए ।
कार्यसमिति भन्दा बाहिर रहेका दुई जनालाई एमआइएस प्रणालीमा समाहित गर्दै ढोकाबाट छिर्नुपर्ने मान्छे झ्यालबाट छिराएर एनसीसीलाई विखण्डन तिर अग्रजले धकेलेको र त्यसलाई रोक्न आफूहरू लागेको बताए ।
उनले एनसीसी कतारले श्रमिकका लागि गरेको काम हेरेर पनि समाजलाई नफुटाउन आग्रह गरे ।
आफ्नो शुभकामना मन्तव्य राख्दै एनआरएनए अभियन्ता सागर नेपालले सन् १९९७ बाट समाजमा लागेर समाजको स्थापन गर्नु आफूले पाप गरेको जस्तो महसुस भएको बताए ।
समाज मिलोस् भन्नु भन्दा आफूसँग कुनै स्वार्थ नभएको स्पष्ट पार्दै गत महिनाको २३ मे मा रोकिएको परिषद् भेलाका दिनमा माइन्युटमा हस्ताक्षर गरेका सबैले जिम्मेवारी लिँदै एनसीसीलाइ मृत्यु शय्यामा नपुर्याउन आग्रह गरे ।
यता नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले एनसीसीमा फुट आएर दुई वटा बनेमा महासंघले कुनै पनि एनसीसीसँग संस्थागत सहकार्य नगर्ने धारणा राखे ।
संघका महासचिव समीर थापा मगरले सहजीकरण गरेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले नेपालको राजनीति कतारको एनसीसीमा नगर्नु आग्रह गर्दै एनआरएनए प्रवासी नेपालीहरूको आँगन रहेको हुँदा एनसीसी टुक्राउने कसैलाई पनि समर्थन र भोट नदिन कतारसहित विश्वभरका नेपालीलाई आग्रह गरे ।
उनले आइसीसीको लडाइँमा एनसीसीलाई नमुछ्न आग्रह गरे । मगरहरूको संस्कार अनुसार सभापति, प्रमुख अतिथि,एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ,सांस्कृतिक वाङ राजा लगायत संघका विशिष्ट व्यक्तित्वहरुलाई फेटाद्वारा सम्मान गरिएको थियो ।
संघको प्रथम उपाध्यक्ष देवी कुमारी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमका बारेमा उपाध्यक्ष कुमार राहादी मगरले प्रष्ट पारेका थिए । समाजले कलाकारहरू, आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृ संस्थासहित सहयोगी संस्थाहरू, पत्रकार विशिष्ट व्यक्तित्वहरूसहित प्रमुख अतिथिलाई मायाको चिनो दोसल्ला र सम्मान पत्रद्वारासहित सम्मान गरिएको थियो । खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष मगरले संस्थापक अध्यक्षदेखि निवर्तमान अध्यक्षसहित कार्यकाल सफल बनाउन साथ र सहयोग पुर्याउने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरेका थिए ।