काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान देशब्यापी बनाएको छ । सहकारीको ठगी आरोपमा लामिछाने जेल परेसँगै रास्वपाले पार्टी र नेतृत्वप्रति जनताको बुझाइ कस्तो छ भनेर जाँच गर्न यस्तो अभियान चलाएको हो ।
एकातिर, लामिछानेमाथि राज्यले प्रतिशोध साधेको भन्ने विषय जनतासम्म पुग्ने र अर्कोतिर पार्टी र नेतृत्वप्रति जनताको आस्था र विस्वास कस्तो छ भनेर थाहा लिने गरी रास्वपाले यो अभियान चलाएको हो ।
अभियान अन्तर्गत रास्वपाले रविको पक्षमा हस्ताक्षर गर्नेको नाम, ठेगाना र सम्पर्क नम्बर समेत लिएको छ । यो डाटा संकलन गरेर रास्वपाले आगामी चुनावमा प्रयोग समेत गर्न सक्दछ ।
रास्वपाका नेताहरू जानीबुझी रविविरुद्ध प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाइएको हो । अभियान अन्तर्गत शनिवार नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगे । जहाँ उनले पनि रविको पक्षमा हस्ताक्षर गरे ।
हस्ताक्षरपछि डा. भट्टराईले ‘अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुन्छ भन्ने कानुनी सिद्धान्त’ रहेको बताए । उनले भने, ‘जुन ढंगले उहाँलाई एकपछि अर्को मुद्दामा अल्झाउने काम भइरहेको छ, यसमा राजनीतिक प्रतिशोधको गन्ध आयो । यो ठिक भएन ।’
महाभारतको प्रसंग निकाल्दै भट्टराईले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रुण हत्या’ गर्न खोजेको आरोप पनि लगाए । ‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाटै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रुण हत्या गर्न खोज्छन्,’ डा. भट्टराईले भने ।
रास्वपाले यही असार ७ गतेदेखि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाइरहेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर संकलन अभियान उत्साहजनक रूपमा भइराखेको छ । उनी भन्छन्, ‘हस्ताक्षर संकलन अभियान उत्साहजनक छ । कति जनाले रविविरुद्ध राजनीतिक प्रतिशोध भएकोमा ऐक्यबद्धता जनाए त्यो एकीकृत गरेर सार्वजनिक पनि गर्छौं ।’
उनका अनुसार अभियानमा नेता, प्रशासक र कलाकारको सहभागिता उत्साहजनक छ । अभिनेता विपिन कार्कीले पनि रास्वपाको कार्यालयमा पुगेर रविबारे हस्ताक्षर अभियानमा भाग लिएका छन् ।
राउटेदेखि सडकमा मकै बेच्नेसम्मले हस्ताक्षर गरेर रविको पक्षमा मत प्रकट गरेका छन् ।
रास्वपाका नेताहरू अहिलेको अभियानमा जोडिएकाहरू पार्टीप्रतिसमेत नरम हुने र आगामी चुनावमा भेट दिने विश्वासमा छन् । यसकारण उनीहरू यसलाई पार्टीको जनमत परीक्षणको रूपमा समेत अर्थ लगाउँछन् ।