२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

Nada
२०८२ असार १५ गते ०८:२०
Shares
विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप : विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ ।

ncell

सधैँ राज्यको भर परेर विद्यालय सञ्चालन गर्नुभन्दा वर्तमान अवस्थामा विद्यालय आफ्नै आन्तरिक स्रोतमा सञ्चालन गर्न जरुरी रहेकाले विद्यालय परिसरमा एक सय चार बोट बुद्धचित्तको बिरुवा रोपिएको मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । सुनापति गाउँपालिकामा रहेको डहु मावि बेथानले बिरुवा र बिरुवा रोप्न प्राविधिक सहयोग नि:शुल्क रूपमा गरेको हो । उक्त विद्यालयले बुद्धचित्तको बिरुवा र फल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएको छ ।

अरूको आशमा होइन, आफ्नो विद्यालय आफैँ सक्षम र सवल बनाउनुपर्छ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै जुनसुकै विद्यालयले माग गरेको बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको डहु माविका प्रधानाध्यापक बलबहादुर वलले बताए । मन्थली माविको अनुरोधपछि आफ्नो विद्यालयमा उत्पादन गरिएका बुद्धचित्तको बिरुवा मन्थली माविमा गएर रोप्न सहयोग गरेको उनले बताए । 

विद्यालयको अनुरोध स्वीकार गरी बिरुवासहित प्राविधिक सहयोग गर्ने डहु माविले अरु विद्यालयलाई पनि यस्तै सहयोग गर्ने हो भने धेरै विद्यालय आत्मनिर्भर हुने मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीले बताए ।

जुनसुकै हावापानीमा पनि हुने यो फलका लागि धेरै मेहनत र परिश्रम गर्नु नपर्ने विद्यार्थीलाई पनि व्यावहारिक ज्ञान सिकाउनका लागि यसले प्रयोगात्मक अभ्यासको काम गर्ने भएकाले आफ्नो विद्यालयमा पाठ्यपुस्तक पढाइका साथै यस्ता काममा कक्षा १० देखि १२ का विद्यार्थीलाई सहभागी गराइने गरेको डहु माविका प्रधानाध्यापक वलले बताए ।

विद्यालयहरू आत्मनिर्भर बनाउने आफ्नो अभियान भएकाले विद्यालय परिसरमा बुद्धचित्त रोप्न चाहना गर्ने जुनसुकै विद्यालयलाई पनि आफ्नो विद्यालयमा उत्पादन गरिएको बुद्ध चित्तको बिरुवा नि:शुल्क उपलब्ध गराउन सकिने उनले बताए । रोपेको करिब दुई वर्षदेखि नै उत्पादन दिने उक्त प्रतिकिलो रु. तीन हजारदेखि रु. पाँच हजारसम्ममा बोटबाटै बिक्री हुने गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर