२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

Nada
२०८२ असार १५ गते ०८:४६
Shares
धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ : राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याएकी छन् ।

ncell

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपाध्यक्ष घिमिरेले भनेकी छन्, “हाम्रो श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दु:खद् हो, कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सृजना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्नु अहिलेको आवश्यकता हो ।”

कृषिलाई व्यावसायीकरण जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राख्ने हो भनिन् कृषिजन्य वस्तुको बढ्दो आयात प्रतिस्थापन गर्न र युवा पलायन रोक्न सकिने उनको भनाइ छ । उपाध्यक्ष घिमिरेले धान बालीमा जलवायुमैत्री प्रविधिको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएकी छन् । 

यो वर्ष ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदै छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने उपाध्यक्ष घिमिरेले विश्वास छ ।

ताजा खबर

सम्बन्धित खबर