सिन्धुली : वाक्सु खोलामा झोलुंगे पुल बनेको छ । पुल बनेपछि गोलन्जोर गाउँपालिका–१ को रम्वेफेदी र फिक्कल गाउँपालिका–२ को चण्डीभन्ञ्याङको भौगोलिक दुरी कम भएको छ ।
हेर्दा वारिपारि देखिए पनि वाक्सु खोलामा आउने बाढीका कारण दुई पालिका बीचको वडाहरू भौगोलिक रूपमा जोडिन कठिन थियो ।
९५ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएपछि शनिवारबाट दुवै पालिकाका वडाहरू भौगोलिक रूपमा नै जोडिएका छन् । वाक्सु खोलामा वर्षौंदेखि पक्की पुलको पर्खाइमा बसेका रम्वेफेदी र चण्डीभन्ञ्याङका स्थानीयहरू झोलुंगे पुल निर्माण हुँदा पनि निक्कै हर्षित छन् ।
संघीय सरकारको ६४ लाख रुपैयाँ ससर्त अनुदान र गोलन्जोर गाउँपालिकाको ११ लाख गरी कुल ७५ लाख रुपैयाँको लगानी तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले नै उक्त पुल निर्माण सम्पन्न गरेका हुन् ।
१४ महिना लगाएर निर्माण सम्पन्न गरिएको झोलुंगे पुलको शनिबार गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले उद्घाटन गरे ।
वाक्सु खोलामा यसअघि पुल नहुँदा वर्षातको समयमा उर्लेर आउने बाढीले विद्यार्थी तथा स्थानीयमा कति बेला बगाउने हो भन्ने चिन्ता हुने गरेको थियो ।
गोलन्जोर–१ को च्याकुटार, भन्ञ्याङखानी, रम्वेफेदी, भालुभन्ञ्याङ, विर्ताटार लगायतका सयौं विद्यार्थीहरू वाक्सु खोलामा हेलिएर फिक्कल गाउँपालिका २ स्थित चण्डीभन्ञ्याङ माविमा अध्ययन गर्न जान बाध्य थिए ।