काठमाडौं : राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक र कूटनीतिक क्षेत्रमा योगदान पु¥याउने डा. भेषबहादुर थापालाई यो वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट कूटनीतिज्ञ र अर्थविद् डा. थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा विशेष समारोहमा डा. थापालाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष डा. तिमिल्सिनाले जानकारी दिए ।
प्रतिष्ठानले तीन दशकदेखि राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा उनको जन्मजयन्तीको दिन इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
प्रतिष्ठानले गत वर्ष चिकित्सा क्षेत्रमा योगदान पु¥याएबापत मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई यो पुरस्कार प्रदान गरेको थियो ।