रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिम सम्पन्न गरिएको छ ।
देवाही गोनाही नगरपालिका–९ को आयोजना, नगरपालिकाको सहयोग तथा सौगात नेपाल संस्थाको समन्वयमा भएको तालिममा करिब ५० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । प्रेमपुर गोनाहीस्थित मधेश संग्रहालयमा आयोजना गरिएको तालिम वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष साहले गाउँघरमा हुने विविध प्रकारका लैङ्गिक हिंसाबारे प्रकाश पार्दै यस्ता तालिमहरूले दीर्घकालीन रूपमा सकारात्मक सामाजिक रूपान्तरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
तालिममा प्रशिक्षकहरूले महिला, पुरुष, बालबालिका तथा वृद्धहरूमा हुने दुर्व्यवहार र हिंसाका स्वरूप, तिनको सामाजिक असर र न्यूनीकरणका उपायबारे जानकारी दिए । लैङ्गिक विभेद अन्त्य, समान अवसरको सुनिश्चितता र समुदायमा सकारात्मक सोच विकासका लागि आवश्यक रणनीतिबारे पनि छलफल गरिएको थियो ।
कार्यक्रमको समापनमा सौगात नेपालका प्रमुख सुरेन्द्र पासवानले तालिममा सहभागी कर्मचारी, सञ्चारकर्मी र स्थानीयलाई गम्छा ओढाएर सम्मान गरेका थिए ।
सञ्चालकहरूले यस्ता तालिमले महिलामा आत्मविश्वास बढाउने र समुदायमा लैङ्गिक न्यायको भावना बलियो बनाउने अपेक्षा व्यक्त गरेका छन् ।