कपिलवस्तु : ऐतिहासिक तथा कृषि महत्व बोकेको असार १५ (राष्ट्रिय धान दिवस) का अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५, खैरिमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज, पूर्व कृषि मन्त्री चक्रपाणी खनाल 'बलदेव' को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले ऐतिहासिक महत्त्व बोकेको एउटा महत्वपूर्ण तथ्य सार्वजनिक गरेका छन्।
खनालका अनुसार करिब २७ सय वर्षअघि राजा शुद्धोधनले आयोजना गरेको धान महोत्सवको झल्को दिने चित्र बर्मास्थित एक संग्रहालयमा सुरक्षित रहेको छ। उक्त चित्र करिब १३०० वर्षअघि तयार पारिएको भए पनि त्यसमा चित्रण गरिएको दृश्य शुद्धोधनकालीन धान महोत्सवसँग सम्बन्धित रहेको विश्वास गरिएको उनले बताए।
चित्रमा हात्ती, घोडा, बाजागाजा र जनसमुदायसहितको भव्य धान महोत्सवको दृश्य समेटिएको जानकारी दिँदै उनले यो चित्रले कपिलवस्तुको समृद्ध कृषि र सांस्कृतिक इतिहासलाई उजागर गरेको बताए।
कार्यक्रममा उनले ‘कालानमक धान’ को ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै यसको उत्पत्तिस्थल कपिलवस्तु नै रहेको दाबी गरे। कृषि क्रान्तिलाई देश निर्माणको आधार स्तम्भको रूपमा चित्रण गर्दै नेता खनालले किसानलाई अग्रपङ्तिमा ल्याउने स्पष्ट सन्देश दिएका थिए।
धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिति, वाईसीएल नेपाल कपिलवस्तु र नेकपा (माओवादी केन्द्र) शिवराज नगर समितिको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले १० कठ्ठा खेतमा धान रोपेर सामूहिक श्रमको उदाहरण प्रस्तुत गरेका थिए। युवा नेता रहिस शाहका अनुसार, उक्त सामूहिक रोपाइँले उत्पादन वृद्धि र राष्ट्रिय आत्मनिर्भरताको सन्देश दिएको छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुद्रलाल बन्जाडे, केन्द्रीय सदस्य जित बहादुर चौधरी, लुम्बिनी प्रदेश सह-सचिव काशिराम यादव, पूर्व जिल्ला संयोजक विष्णु बेल्बासे, प्रदेश सचिवालय सदस्य तथा बाणगंगा नगर इन्चार्ज नारायण भुसाल, शिवराज नगर इन्चार्ज दोर्ण बहादुर पुन ‘दिनेश’, प्रदेश सदस्य टुकलाल पुन, राजेन्द्र आचार्य, किसान महासंघ जिल्ला अध्यक्ष रामवेलास यादव, वाईसीएल केन्द्रीय सदस्य सहवाज खान, वाईसीएल जिल्ला अध्यक्ष राकेश यादव, अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य रेवता पौडेल, युवा नेता केशर वली, मुस्लिम मुक्ति मोर्चाका प्रदेश सदस्य थकाली मिया, बाणगंगा नगर अध्यक्ष टेकेन्द्र क्षेत्री, शिवराज नगर अध्यक्ष चुर बहादुर खडका ‘जीवन’ तथा शहीद परिवार समाज कपिलवस्तु अध्यक्ष प्रकाश पौडेल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम आयोजक समितिका अनुसार, ऐतिहासिक स्मरण र आधुनिक कृषि अभियानलाई एकैसाथ जोड्ने यो प्रयासले राष्ट्रिय चेतनामा नयाँ उचाइ थपेको छ।