२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

shivam cement
२०८२ असार १६ गते ११:२९
Shares
वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

गण्डकी : असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो ।

वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । “असार १५ सम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ”, उनले भने, “बाह्रैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रुपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ ।” वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ । 

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९÷८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो ।

यसले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरण जस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । 

क्षेत्रफल घटेपछि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताए । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको निर्देशनालयले जनाएको छ । 

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेपेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैंडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । 

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।

सम्बन्धित खबर