काठमाडौं : शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विषय पेचिलो बनेको भन्दै सहमतिका लागि समय माग गरेका छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रीले विद्यालय शिक्षा विधेयक पास गर्न केही दिन पर्खिन आग्रह गरेका हुन् ।
उनले शिक्षक महासंघसँग २०७५, २०७८ र २०८० सालमा गरेका सहमतिहरुलाई पनि कार्यान्वयन गर्नेगरी ऐन अगाडि बढाउने वातावरण निर्माणका लागि समय आवश्यक रहेको बताए । उनले शिक्षकहरुलाई फेरि आन्दोलनमा जाने वातावरण बनाउन नहुनेमा जोड दिए ।
उनले सरकार–शिक्षकबीच भएका ९ बुँदे सम्झौताहरु व्यवहारमा गइसकेको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेगरी ऐन ल्याउनेपर्नेमा आफ्नो जोड रहेको बताए । 'कुनैपनि मन्त्रीको दायित्व हस्ताक्षर गरेर छोड्ने मात्रै हो कि समझदारी कार्यान्वयनमा लैजाने पनि हो ?' उनको प्रश्न छ ।
सांसदहरुले सोमबार नै विधेयक पास गर्ने भनेपनि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र मन्त्री पन्तले थप समय माग गरेका हुन् ।