रौतहट : संघीय निजामती सेवा ऐनविरुद्ध आम जनता पार्टीले सोमबार रौतहटको गरुडा बजारमा विरोध प्रदर्शन गर्दै विधेयक जलाएको छ । गरिब र श्रमजीवी कर्मचारीका हित विपरीत रहेको भन्दै सो विधेयकको खारेजीको माग गरिएको छ ।
गरुडाको मेथुर चौधरी चोकमा आयोजित प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य रविन्द्र यादवसहित नेताहरूको नेतृत्वमा ऐनको प्रतिलिपि जलाइएको हो । पार्टीले विधेयकलाई ‘गरिबमारा’भन्दै अस्वीकार गर्ने घोषणा गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेता यादवले संघीय निजामती ऐन गरिब, विपन्न र तल्लो तहका कर्मचारीको भविष्यसँग खेलवाड गर्ने नियतका साथ ल्याइएको आरोप लगाए । ‘सरकारले ल्याएको यो ऐन संशोधन नगरेसम्म आन्दोलन थप चर्किनेछ,’ उनले भने ।
प्रदर्शनपछि आम जनता पार्टीले देशका विभिन्न स्थानमा विरोध कार्यक्रम जारी राख्ने जनाएको छ । काठमाडौंको संसद भवन परिसरमा समेत पार्टी अध्यक्ष प्रभु साहले आइतबार ऐनको प्रतिलिपि च्यातकेका थिए ।
ऐनको पुनरावलोकन नगरे आन्दोलनलाई सशक्त बनाउने पार्टीले जनाएको छ ।