सर्लाही : नेपाल किसान महासंघ सर्लाही जिल्ला कार्य समितिको आयोजनामा धान रोपाइँ तथा किसान सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‘आफ्नो देशको उत्पादन हाम्रो शानः कृषिमा उन्नति हाम्रो अभियान’ नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले नेपाली कांग्रेस पार्टीले सधैं किसानको हक अधिकारका लागि आवाज उठाउँदै आएको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले संघीय र मधेश सरकारलाई किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे।
साथै जलवायुमैत्री प्रविधि, आधुनिक कृषि प्रणालीको विकास र प्रवद्र्धनमार्फत उत्पादन बढाउनेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
सिंहले प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा कृषि मन्त्रालय रहेकाले उन्नत बीउ, मल र सिँचाइको पहुँच विस्तारका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए । मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा शतप्रतिशत बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।