कालीकोट : कालीकोटको तीला गाउँपालिका–७ स्थित झुसेअरादेखि बल्लाबाटा हुँदै लुलेसम्मको सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ । कुलो निर्माणसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।
गाउँपालिका र बेलायती राजदूतावासको आर्थिक सहयोगमा सञ्चालित ‘स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’ अन्तर्गत ३६० मिटर लम्बाइको पक्की कुलो निर्माण भएको हो । अघिल्ला वर्षसम्म बसौँदेखि काठको पँदालो प्रयोग गरेर खेतमा पानी झार्दै आएका स्थानीयले अब भने दीर्घकालीन सिँचाइ समाधान पाएको प्रतिक्रिया दिएका छन् ।
वडा अध्यक्ष खम्बीलाल रोकायाका अनुसार, “कुलो निर्माणपछि हरेक वर्ष काठको पँदालो बदल्नुपर्ने झन्झट हटेको छ । यसले जंगलको फडानीसमेत रोकिनेछ ।”
कुलो निर्माणमा स्थानीय श्रमिकहरू समेत संलग्न गरिएका थिए । विगतमा रोजगारीका लागि भारत जानुपर्ने बाध्यतामा रहेका युवाहरू यस पटक गाउँमै आम्दानीको स्रोत पाएर सन्तुष्ट देखिएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष आइते रोकायाका अनुसार कामदारहरूलाई छनोट गरी उनीहरूको बैंक खातामार्फत पारदर्शी रूपमा ज्याला भुक्तानी गरिएको हो ।
महिला श्रमिक बाँचु रोकाया भन्छिन्, “पहिले नगदमा ज्याला पाउँदा ढुक्क हुन सकिँदैनथ्यो । अहिले बैंकमार्फत तलब आउँछ, जसले सुरक्षित महसुस गराउँछ ।” उनले महिला तथा पुरुष दुवैलाई समान ज्याला दिइएको र कार्यस्थलमा प्राथमिक उपचारको व्यवस्था गरिएको जानकारी दिइन् ।
वडा प्राविधिक राम देवकोटाका अनुसार, करिब ३० लाख २६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको यस आयोजनाबाट ४६ घरधुरीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८६ घरधुरीले सिँचाइ सुविधा प्रयोग गर्न सक्नेछन् । कुलोले करिब ९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउनेछ ।
स्थानीय अगुवा कृषकहरूका अनुसार, सिँचाइ सुविधाले वार्षिक दुई बालीबाट तीन बाली लिन सकिनेछ । साथै, करेसाबारीमा सागपात, टमाटर जस्ता तरकारी उत्पादन बढेपछि पोषणमा समेत सुधार आउने विश्वास गरिएको छ ।