नवलपरासी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा बनेको नयाँ पुल तयार भएको छ । पुल भएर बिहीबारदेखि यातायात सञ्चालन हुने छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नयाँ पुलको भारवहन क्षमता बलियो देखिएकाले बिहीबार बिहान ११ बजेदेखि २४५ मिटर लामो पुल महेन्द्रराजमार्ग हुँदै सबै सवारी साधन ओहोरदोहोर गराइनेछ ।
गत वर्ष पुस २६ गते ५ दशक पुरानो पुल भत्किएपछि डाइभर्सन बनाएर गाडी चलेको थियो । तर डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन यातायात सञ्चालनमा सास्ती भएको थियो ।
त्यसपछि गत जेठ २४ गते पक्की पुलको अन्तिम भाग ढलान गरिएको थियो । पुलले आवश्यक लोड धान्न सक्ने भएपछि बिहीबारदेखि निरन्तर रूपमा यातायात सञ्चालन हुने भएको हो ।
७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरू वारपार गर्दै आएका थिए ।
डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुनेछ ।
दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ ।