२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बज्रबाराही चापागाउँ अस्पतालको सेवा सुधारमा जोड

Nada
माधवप्रसाद घिमिरे
२०८२ असार १९ गते २०:५०
Shares
बज्रबाराही चापागाउँ अस्पतालको सेवा सुधारमा जोड

ललितपुर : ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालले प्रवाह गरिरहेको सेवा सुधार गर्दै गुणस्तरीय उपचारको विकासमा सरोकारवालाहरुले जोड दिएका छन् । 

ncell

नेपाल पत्रकार महासंघ ललितपुरले बिहीबार आयोजना गरेको अस्पतालको सामाजिक परीक्षणमा सहभागीहरुले अस्पतालको प्रशासनिक तथा उपचार सेवाको सुधारमा आवाज उठाएका हुन् । 

सामाजिक परीक्षण कार्यक्रममा धारणा राख्दै बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले प्रदेशस्तरीय बज्रबाराही चापागाउँ अस्पताललाई छिटो र प्रभावकारी सेवा दिने नमुना सरकारी अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

‘महानगर वा नगरपालिकाले आफ्नै स्रोतले पनि अस्पताल सञ्चालन गर्न सक्छ, तर स्रोत र साधनको अभावमा हामी जस्ता भौगोलिक विकटता भएका गाउँपालिकालाई गाह्रो पर्छ, नागरिकको हीतलाई हामीले ध्यान दिनुपर्छ, कुनै पनि विरामीले यहाँ आएपछि सेवा नपाउने अवस्था हुनुहुँदैन’ उनले भने ।  

गोदावरी वडा नं. १३ का अध्यक्ष भास्कर थापाले आफूले थाहा पाउँदा ‘ससिखेल हेल्टपोष्ट’ भनेर चिनिने यो अस्पताल आज प्रदेशस्तरीय अस्पतालका रुपमा विकास भएको उल्लेख गर्दै यस क्षेत्रका स्थानीयहरुको विश्वासिलो सेवा प्रवाह जरुरी भएको बताए । 

वडा नं. ११ का अध्यक्ष निलबहादुर देसारले बिरामीको चाप बढ्दासमेत अस्पतालमा सेवा लिनेको संख्या घट्नु चिन्ताको विषय भएको बताए । 

उनले जनतामा अस्पतालप्रति विश्वास कायम गर्न प्रभावकारी सेवा प्रवाह जरुरी रहेको बताए ।  

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारको अवसरको रूपमा लिएर कार्ययोजनामा समावेश गरिने जानकारी गराए । ‘हामी राजनीतिमा होइन, सेवामा केन्द्रित छौं, समितिले बनाएको योजना अनुसार साउनदेखि सुधारका काम हुन्छ’ उनले भने । 

मेडिकल सुपरिटेन्डेन्ट डा.अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ९८ प्रकारका औषधि सधैं उपलब्ध नभएको, एम्बुलेन्स बिग्रिएको, अस्पतालको नाम नहुँदा सेवा प्रवाहमा समस्या हुनेलगायतका चुनौती प्रस्तुत गरे । 

‘सेवाको गुणस्तरमा ध्यान दिँदै टोकन प्रणाली, सर्जरी सेवा, नाक–कान–घाँटीको उपचार जस्ता क्षेत्रमा सुधार ल्याएका छौं,’ उनले भने । 

अस्पतालका डा.अमरदीप शाहले विगतको तुलनामा भर्ना हुने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको बताए । 

‘विशेषज्ञ सेवाको पहुँच वृद्धि भएको छ, तर वीमा भुक्तानी नआउनुले समस्या बढाएको छ,’ उनले भने । 

अग्रज पत्रकार प्रभुनारायण बस्नेतले जनचेतना र प्रचारप्रसार अभावले अस्पतालप्रति विश्वास घटेको उल्लेख गर्दै व्यवहार, वातावरण र सन्देशप्रवाहमार्फत जनसन्तुष्टि हासिल गर्न सकिने बताए । 

पत्रकार शिवहरि घिमिरेले औषधि उपलब्धता, निःशुल्क सेवाको कार्यान्वयन र आधारभूत उपचारमा सेवाग्राहीमैत्री व्यवहार आवश्यक रहेको बताए । 

जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले चापागाउँ अस्पताललाई गोदावरी क्षेत्रकै मोडेल अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

अस्पतालको प्रभावकारी सञ्चालनका लागि स्रोत अभाव, बीमा भुक्तानीको ढिलाइ, प्राविधिक चुनौती जस्ता समस्या रहेको अस्पतालका कर्मचारीहरुको भनाइ रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर