रौतहट : मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रम अन्तर्गत असार २३ गते रौतहटमा हुने ताजिया (दाहा) मा डिजे र हातहतियारको प्रदर्शनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
राजपुर इलाका प्रहरी कार्यालयमा भएको छलफलमा राजपुर नगरपालिकाका ९ वटै वडाका अध्यक्ष, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए । छलफलमा कार्यक्रमलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।
छलफलमा ताजिया र्याली निकाल्दा डिजे, हातहतियार वा उकास्ने खालका सामग्री प्रयोग गर्न नपाइने, प्रत्येक वडाबाट निकालिने ताजियाका लागि संयोजन समिति गठन गरिने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने निर्णय भएको छ ।
र्यालीमा बालबालिकाको सहभागिता निषेध गरिएको छ । यस्तै जनस्वास्थ्यमा असर पार्ने गतिविधि नगर्न अनुरोध गरिएको छ । राजपुरका विभिन्न वडाबाट निस्कने ताजिया र्याली पानी टंकी बजार क्षेत्रमा जम्मा हुने जनाइएको छ ।
कार्यक्रमको निगरानी गर्न अनुगमन समिति गठन गरिने र जसमा मुस्लिम समुदाय र सुरक्षा निकायका प्रतिनिधि रहने जनाइएको छ । यस्तै सम्पूर्ण सुरक्षा व्यवस्था प्रहरी प्रशासनमार्फत गरिने उल्लेख गरिएको छ ।
बैठकले कार्यक्रमलाई सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।