काठमाडौं : भ्रष्टाचार मुद्दामा नेपाली सेनाका २ अधिकृत बर्खास्त भएका छन् । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो ।
सैनिक अदालतले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना भएको ठहर गरेको छ । उनीहरूविरूद्ध सैनिक कल्याणकारी कोषको सवा २ करोड हिनामिना गरेको आरोपमा सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा चलाइएको थियो । ती सैनिक अधिकृतलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला भएको सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्ने पनि फैसला भएको छ ।’
१३ कात्तिक २०७४ देखि २६ भदौ २०७५ सम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र ९ फागुन २०७३ देखि १७ असोज २०७५सम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको अभियोग थियो । सहायक रथी खड्का त्यतिबेला प्रमुख सेनानी र बोधराज कार्की सेनानी हुँदा सँगै कार्यरत थिए ।
सैनिक अदालतले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ । थापा पुर्पक्षका लागि थुनामा छन् । अधिकारी अमेरिकामा छन् ।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएको नेपाली सेनाले जनाएको छ ।