रौतहट : फतुवा विजयपुर नगरपालिका–२ शितलपुरका किसानहरूलाई सिँचाइमा सहज बनाउने उद्देश्यले खेत–खेतमा विद्युत् सेवा पुर्याइएको छ ।
वडाध्यक्ष अनिरुद्व प्रसाद यादव ‘सञ्जय’ को पहलमा वडास्तरीय बजेटबाट विद्युतीय मोटरमार्फत खेतमा सिँचाइ गर्नका लागि विद्युत् विस्तार गरिएको हो ।
वडाध्यक्ष यादवका अनुसार गत आर्थिक वर्षमा १०० किसानको खेतमा बिजुली पुगिसकेको छ भने चालु वर्षमा थप १ सय ५० किसानलाई सुविधा दिन काम अघि बढाइएको छ ।
विद्युत् जडान मात्र होइन, सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल पनि पालिकाले तिर्दै आएको वडाध्यक्ष यादवले जानकारी दिए । यस परियोजनाअन्तर्गत वडाले १०० वटा बिजुलीका पोल र तार खरिद गरिसकेको छ भने हाल पोल गाड्ने काम धमाधम भइरहेको छ ।
शितलपुरका किसानले धान, मकै, गहुँ, तोरी र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विद्युत् सिँचाइको सुविधा विस्तारसँगै कृषि उत्पादनमा सुधार र किसानको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।