काठमाडौं : सरकारले नेपालमा रहेका बाल श्रमिकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ । शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताए । उनले श्रम क्षेत्रमा बालश्रम कति छ ? भन्ने कुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमिक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमिकहरुको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताए । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उनको भनाइ छ ।
उनले भने, ‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरु छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरु छन् । उनीहरुले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौं । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौं । नेपालकै मान्छे बालश्रम कति छन्, भरतबाट आएका कति छन् । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ ।’
उनले घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने बताए । आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने उनको भनाइ थियो ।