रौतहट : रौतहट राजपुर नगरपालिकामा मोहर्रमको अवसरमा रातिको समयमा झारा (दाहा) खेल्नेक्रममा दर्जनौं मोटरसाइकल इलाका प्रहरी कार्यालय (इप्रका) राजपुरको टोलीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय राजपुरका प्रमुखको नेतृत्वमा प्रहरी टोलीले राति १२ बजेदेखि ३ बजेसम्म विशेष निगरानीका साथ चेकजाँच गरेको थियो । बाहिरी क्षेत्रबाट आएका व्यक्तिहरू झारा खेल्ने उद्देश्यले भित्रिएको सूचनाका आधारमा चेकजाँच गर्दा दर्जनौं मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मोहर्रमको शान्तिपूर्ण सञ्चालनमा अवरोध नहोस् भन्ने हेतुले निगरानी कडा बनाइएको थियो । मोटरसाइकल धनीहरूमाथि आवश्यक परे कानुनी कारबाही गरिने र शान्ति सुरक्षामा असर पुर्याउने कार्य सह्य नहुने प्रहरीले जनाएको छ ।
यसैबीच, झारा खेल्नेक्रममा मदिरा सेवन गरेर आपसी विवादमा उत्रिएका ४ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
राजपुर नगरपालिका क्षेत्रमा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी इलाका प्रहरी कार्यालयले सक्रिय रूपमा काम गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।