२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

वन क्षेत्रको राजस्वले प्रदेश विकासमा महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री आचार्य

Nada
सूर्यप्रसाद भुसाल
२०८२ असार २१ गते २०:४६
Shares
वन क्षेत्रको राजस्वले प्रदेश विकासमा महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास निर्माणमा वन क्षेत्रबाट आर्जित राजस्वले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत रुब्दीस्थित डिभिजन वन नर्सरीको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरिएको जानकारी दिए ।

ncell

मुख्यमन्त्री आचार्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले सञ्चालनमा ल्याएको बृहत् वृक्षारोपण अभियानले जिल्लाको वातावरणमा सकारात्मक प्रभाव पारिरहेको भन्दै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने, ‘हामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ । वनमा खेर जाने पातपतिंगर र झार संकलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ, अर्घाखाँचीमा यसको सुरुवात भइसकेको छ, यसलाई निरन्तरता दिन प्रदेश सरकारले पूर्ण सहयोग गर्नेछ ।’

उनले वन क्षेत्रलाई संरक्षणको दृष्टिकोणमा मात्र सीमित नराखी रोजगारी, उद्यमशीलता र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, सामुदायिक वनहरूलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाइ कृषि क्षेत्रसँग जोड्न सकिने भन्दै अर्गानिक खेती अभियानमा टेवा पु¥याउने कार्यक्रम अघि बढाउन निर्देशन पनि दिए ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्य लिइएको छ । साउन १४ गतेसम्मका लागि अभियान सञ्चालन गरिनेछ । हालसम्म टिमुरका २० हजार ५ सय र तेजपातका १२ हजार ९ सय बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मोहन प्रसाद श्रेष्ठले जिल्लाभित्र ६ वटा नर्सरीमा १ लाख ६३ हजार वर्षे तथा बहुवर्षे बिरुवा तयारी अवस्थामा रहेको जानकारी दिए । उनले तेजपात र टिमुरको विशेष खेती विस्तारको अभियानसमेत सुरू गरिएको बताए । कम्तीमा ५ सय बिरुवा माग गर्ने उपभोक्ताका लागि निःशुल्क ढुवानी सेवा र रोपाइँमा सहजीकरणको व्यवस्था गरिएको छ ।

बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि जिपीएस लोकेशन प्रणालीमार्फत निगरानी गरिने पनि श्रेष्ठले जानकारी दिए । अनुगमन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, भू तथा जलाधार कार्यालयका प्रमुख शम्भु झा, वरिष्ठ वन अधिकृत गणेश चौधरी, सन्धिखर्क सव–डिभिजन प्रमुख दशराम चौधरीसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर