
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा हाल १ सय ११ जना करार कर्मचारी कार्यरत रहेका छन् भने कार्यालय सहयोगीको संख्या मात्रै ३० जना रहेको पाइएको छ ।
नगरपालिकाको विभिन्न शाखा तथा कार्यालय सञ्चालनका लागि ठूलो संख्यामा करार कर्मचारी रहेको पाइएको छ । देशै भरका अधिकांश पलिकाले करारका कर्मचारी हटाउँदै गर्दा त्रिपुरासुन्दरीमा भने अझै आउँदो पुस सम्म करारका कर्मचारीहरुको म्याद थप गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
आन्तरिक राजस्व नै कम उठ्ने दुर्गमका पालिकाका यसरी करारका कर्मचारीहरु राख्दा पालिकामा आर्थिक भार परिरहेको छ ।
त्रिपुरासुन्दरीमा अहीले पञ्जीकरण शाखामा संघीय बजेटमा ३ प्रधानमन्त्री रोजगार अन्तर्गत संघीय बजेटमा ३, विद्यालयमा नर्स ५, गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ४ जना सामाजिक परिचालक, ७ जना नगर प्रहरी, नगरपालिकाका ११ वडामा ११ जना कार्यालय सहयोगी, त्रिपुरासुन्दरी मन्दिरमा १, छलमष्टा मन्दिरमा १, रूम मन्दिर १ जना कार्यालय सहयोगी, नगरपालिकाको कार्यालयमा १४ जना कार्यालय सहयोगी, त्रिपुराकोट स्वास्थ्य चौकी र प्राथमिक आँखा उपचार केन्द्रमा १, १ जना कार्यालय सहयोगी, त्रिपुराकोट स्वास्थ्य चौकीमा १ जना स्वीपर, फोहोर संकलनमा २ जना सहयोगी, १ जना सूचना प्रविधि अधिकृत, राजस्व सहायक १ जना, सहायक कम्पुटर अपरेटर २ जना, उद्यम विकास सहजकर्ता २ ,पोषण सहजकर्ताको १, एम्बुलेन्स चालक २ जना, एकसाभेटर अपरेटर १ , इलेक्ट्रनिक टेक्निसिएन २ , कृषि प्राविधिक चौथो संघीय बजेट तर्फका २, पशु प्राविधिक १, सामाजिक परिचालक १ र असिस्टेन्ट सव– इन्जिनियर २ जना रहेका छन् ।
यस्तै त्रिपुराकोट स्वास्थ्य चौकीमा नेत्र सहायक पाँचौं १, ल्याब असिस्टेन्ट १, अनमि २ जना, सु स्वास्थ्यचौकीमा १ जना अनमि, १ जना स्वीपर, १ जना कार्यालय सहयोगी, पहाडा स्वास्थ्यचौकीमा २ जना अनमी, २ जना स्वीपर, १ जना अहेब, लिकु स्वास्थ्य चौकीमा १ जना स्वीपर, फुल्चिङ स्वास्थ्यचौकीमा २ अनमी, १ स्वीपर, १ कार्यालय सहयोगी, रसी सामुदायिक स्वास्थ्य एकाइमा १ अहेब, १ का.स, रूम आधारभूत स्वास्थ्य केन्द्रमा १ अहेब, १ का.स, रंग आधारभूत स्वास्थ्य केन्द्रमा १ अनमी, १ का.स, चु आधारभूत स्वास्थ्य केन्द्रमा १ अहेब, १ का.स, मुहुँ आधारभूत स्वास्थ्य केन्द्रमा १ अनमी,१ का.स , रावतबाडा आधारभूत स्वास्थ्य केन्द्र १ अहेब, १ का.स, ल्हा सामुदायिक स्वास्थ्य केन्द्र १ अहेब, १ का.स र सुस्वा परियोजना अन्तर्गत संघीयता बजेटमा ९ जना करारका कर्मचारी रहेका छन् ।
यीमध्ये केही कर्मचारीहरू संघीय बजेटबाट तलबभत्ता पाउँछन् भने अधिकांशको तलब नगरपालिकाको आन्तरिक राजस्वबाट नै खर्च भइरहेको छ ।
पालिकामा स्थायी दरबन्दी अभाव र आफ्नै स्रोतमा कार्यक्रम सञ्चालनको बाध्यताका कारण करार सेवाका कर्मचारी राख्नुपरेको नगरपालिकाका एक अधिकारीले बताए । उनले भने,‘स्थायी पदपूर्तिका लागि आवश्यक प्रक्रिया नसकिँदा तत्कालका लागि करार सेवामा कर्मचारी नियुक्त गर्नुपरेको हो ।’
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दरबन्दीअनुसारका पदहरूमा स्थायी दरखास्त आह्वान गर्ने र पुसपछि भने कसैको म्याद थप नगर्ने तयारी गरिरहेको जनाएको छ ।
देशै भरका अधिकांश पालिकाले करारका कर्मचारी घटाउँदै गर्दा डोल्पाका ८ स्थानीय तहले भने घटाउने विषयमा कुनै चासो देखाएका छैनन् ।