२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

‘ऐन कानुन परिवर्तनले लगानीको वातावरण बन्दैछ’

shivam cement
२०८२ असार २२ गते ०६:१५
‘ऐन कानुन परिवर्तनले लगानीको वातावरण बन्दैछ’

नेपाल लगाानीकर्ताको लागि राम्रो सम्भावना भएको मुलुकको रूपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ । नेपालमा रहेको प्राकृतिक स्रोतसाधन, भौगोलिक अवस्था र सस्तो श्रम तथा जनशक्तिको कारण लगानी गर्दा छोटो समयमा नै धेरै नाफा प्राप्त गर्न सकिने कतिपयको विश्लेषण छ । राजनीतिक अवस्था र कोभिड महामारी पछि आर्थिक मन्दीले विश्वभरी नै लगानीको वातावरण बिग्रिएको थियो । तर, विस्तारै लगानीकर्ताले लगानी गर्ने क्षेत्र खोजिरहेका छन् । नेपालमा लगानी गर्ने लगानीकर्ताका लागि लगानीको वातावरण, सम्भावना र चुनौतीको विषयमा लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् । 

नेपालमा लगानीको वातारवण कस्तो छ ? 

नेपालको हावापानी, आतिथ्यता र संस्कृतिले नेपालको विश्वमै फरक परिचय छ । अरु देश भन्दा फरकपन कै कारण नेपालमा लगानी गर्न विदेशी तथा स्वदेशी लगानीकर्ताको चासो पनि देखिएको छ । विगतमा केही अप्ठ्यारो परिस्थितिको कारण लगानी आउन सकेको थिएन । तर, बिस्तारै सरकारले ऐन कानुनमा गरेको परिवर्तनले लगानीको वातावरण बनाउन सहज बनाएको छ । 

लगानीको दृष्टिकोणले नेपाल भर्जिनल्यान्ड भएको हुनाले यहाँ अपार सम्भावना छ । यति बेला नेपाल लगानीको पर्खाइमा छ । नेपालको प्राकृतिक स्रोतसाधन, श्रम तथा जनशक्ति, पर्यटन, कृषि जलविद्युत, उर्जा लगायतका क्षेत्रमा देखिएको सम्भावनाकै कारण लगानीकर्ताको चासो बढ्दो छ । 

सम्भावना हुँदाहुँदै पनि लगानीकर्ता किन नेपालमा आएका छैनन् ?

त्यसमा हामी सबै गम्भीर हुन आवश्यक छ । लगानीकर्ताले सम्भावना देखेपनि लगानीको सुरक्षा नदेखेसम्म लगानी गर्न चाहँदैनन् । नेपालमा विदेशी लगानी नआएको भन्ने होइन तर सानो लगानीले मात्र फड्को मार्न निकै कठिन छ । विगत एक दशकको मुल्यांकन गर्ने हो भने हामीले फड्को मार्न धेरै नै बाँकी देखिन्छ । तर, पछिल्लो समयमा लगानी वोर्डको कार्यालयले नेपालमा लगानी ल्याउनका लागि धेरै नै काम गरिहरेको छ । 

लगानीको बोर्डको नेतृत्वमा गरिएको लगानी सम्मेलनपछि नेपालमा स्वदेशी र विदेशी लगानीको वातावरण बन्दै गएको छ । सिमेन्ट, उर्जा, पर्यटन, होटल तथा आइटी क्षेत्रमा लगानी बढ्दो छ । विदेशी लगानी आएपछि निर्माण क्षेत्रका लागि अत्यावश्यक सिमेन्टको मूल्य सस्तो भएको छ । रोजगारी सृजना भएको छ । यस्तै उर्जा क्षेत्रमा अरुण तेस्रोमा समेत विदेशी लगानी छ, जुन अब सञ्चालनमा आउने तयारीमा छ । त्यसबाट समेत नेपालले ठुलो लाभ लिँदै छ । 
मेगा आयोजनाको लागि समय लाग्छ तर, अहिले जुन गतिमा काम भएको छ त्यसलाई तोड्न आवश्यक छ । पछिल्लो समय स्वदेशी र एनआरएनहरू समेत लगानीको लागि तयार देखिएका छन् । त्यसले लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक नै छन् भन्ने बुझाउँछ ।

नेपालमा लगानी गर्ने वातावरण कत्तिको बनेको छ ? 

वातावरण धेरै नै राम्रो बन्दै गएको छ । १६औँ पञ्चवर्षीय योजनामा एक सय १२ खर्ब रुपैयाँ बराबर लगानीको अपेक्षा गरिएको छ । त्यो लगानी हुँदा वित्तिकै नेपालको विकास र समृद्धिको सपनाको लक्ष्य पूरा गर्न धेरै समय पखर्नु पर्ने अवस्था आउँदैन । 

लगानी बोर्डले ७४ खर्ब लगानी निजी क्षेत्रबाट, पाँच खर्ब लगानी सहकारी र सामुदायिक क्षेत्रबाट र ३४ खर्ब लगानी सरकारको तहबाट ल्याउने गरी केही काम समेत गरेको छ । जब ठूला आयोजनामा आन्तरिक र बाह्य लगानी आउने वातावरण बन्दैन तबसम्म देशको समृद्धिको लक्ष्य पूरा हुँदैन भनेर हामी ठूलो आयोजनामा केन्द्रित भएका छौँ । 

नेपालले लगानी सम्मेलन गर्दा केही कानुनहरू समेत परिवर्तन गरेर लगानीकर्तालाई आह्वान गरेको छ । अध्यादेशमार्फत् कानुन ल्याएर भएपनि वैदेशिक लगानी भित्र्याउने वातावरण बनाएको छ । थु्रपै कानुनमा गरिएको परिवर्तनले लगानीको माहोल बन्दै गएको बुझ्न सकिन्छ । 

यस्तै, आर्थिक वर्ष २०८२÷८३ को लागि आएको नीति तथा कार्यक्रम र बजेटले समेत निजी क्षेत्रलाई उत्साहित बनाएको छ । बजेटले निजी क्षेत्रका मागलाई समेटेर सहज गरिदिएको छ । निजी क्षेत्रका व्यवसायीहरूका निम्ती बोल्ड निर्णयको रूपमा हेरिएको छ । लगानी बोर्डले समेत सरकारलाई लगानीमैत्री कानुन निर्माणमा पनि दबाब दिइरहेको अवस्था छ । अब महत्वकांक्षी लक्ष्यको साथ अगाडि बढ्ने र लगानीकर्तालाई उत्साहित बनाउने काम हुन आवश्यक छ । 

अरु देशले वैदेशिक लगानी भित्र्याउनका लागि गरिरहेको प्रयास हामीले सिक्न आवश्यक छ । नीतिगत र कानुनी सुधारको बाटोमा अझै काम गर्नुपर्छ । नेपालले समेत अरु मुलुकले गरेको प्रयासलाई तुलनात्मक अध्ययन गरेर लगानीकर्तालाई आकर्षण गर्ने कार्यक्रम बनाउन सक्नुपर्छ । लगानी बोर्डले अहिले रणनीति र व्यावसायिक योजना बनाईरहेको छ । आगामी ४ वर्ष भित्रमा १५ बिलियन अमेरिकन डलरको लगानी स्वीकृत गराउनेगरी काम भइरहेको छ, त्यसले फेरि थप लगानीको वातावरण बन्न सक्ने देखिन्छ ।

लगानीको प्रतिबद्धता आउने तर, लगानी नआउने अवस्थालाई रोक्न के गर्न आवश्यक छ ?

प्रतिबद्धता र लगानीबीचको दुरी धेरै नै छ । हामीसँग आयोजनाको तयारी र आयोजना बैंक नै कमजोर हुँदा प्रतिबद्धताअनुसार लगानी आएको देखिँदैन । यो नै नेपालको लागि एउटा ठूलो चुनौती हो । हामीले आयोजना बनाएर लगानीकर्तालाई कसरी फाइदा हुन्छ भन्न सकिरहेको अवस्था छैन । सरकारले यो जोखिम लिन्छ, लगानीको रिटर्न यसरी आउँछ भनेर प्रष्टसँग नबताउँदा लगानीकर्ता लगानी गर्न इच्छुक देखिँदैनन् । 

संघ, प्रदेश र स्थानीय तीनै तहसम्म समन्वय गरेर काम गर्न सकिन्छ । वैदेशिक लगानी वा स्वदेशी लगानी प्रवद्र्धनको काम गर्न सकिन्छ । लगानीकर्ता अझै पनि विभिन्न मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यता छ, त्यसलाई नहटाई काम गर्न सकिँदैन । यस्तै, आन्तरिक लगानी आयो भने मात्र वैदेशिक लगानी आउन सक्छ । आन्तरिक लगानीले वैदेशिक लगानीकर्तालाई विश्वासको वातावरण पैदा गर्छ । त्यसैले सबैभन्दा पहिले देश भित्रकै लगानीकर्तालाई अगाडि बढाउने योजनामा लगानी बोर्डले समेत काम गरिरहेको छ । 

त्यसका लागि लगानी बोर्डले वैकल्पिक विकास, वित्त ऐन र सोही अनुसार विशेष कोषको आवश्यकता छ भनेर सरकारलाई भनिरहेको अवस्था छ । हामिसँग सञ्चयकोष, बीमा कम्पनी, टेलिकम लगायत विभिन्न कोषहरूमा भएको रकमलाई उत्पादनमुखी लगानीमा लगाउन आवश्यक छ । त्यो रकमलाई परिचालन गर्ने विधि बनाउने हो भने ३÷४ खर्ब रकम त हाम्रै कोषहरूबाट निकाल्न सकिन्छ । 

विदेशबाट आएको रेमिट्यान्सलाई लगानी गर्ने वातावरण बनाउन ध्यान पुगिरहेको छैन कि ? 

अहिले नेपालमा आएको रेमिट्यान्सको हिस्सा मध्ये निकै लगानी भएको छ । रेमिट्यान्सबाट आएको रकम उपभोगमै खर्च भइरहेको छ, त्यसलाई रोक्न समेत लगानीमा लैजाने कार्य अगाडि बढाउन आवश्यक छ । रेमिट्यान्सबाट आएको रकमलाई सदुपयोग गर्ने नीति नै बनाउनु पर्छ । जसमार्फत् रोगजारी, आर्थिक वृद्धि, समृद्धि र विकासको चाहना पूरा गर्न लगानीको न्यूनतालाई सम्बोधन गर्न सकिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise