–शम्भू पनेरू
विश्व राजनीति हेर्दा, एक समान सत्य प्रस्ट देखिन्छ— कुनै पनि देशमा एउटै राजनीतिक शक्ति वा सीमित दलहरूको नियन्त्रण लामो समयसम्म रहँदा त्यसले जनताको आकांक्षा पूर्णरूपमा सम्बोधन गर्न सक्दैन । शक्ति एकै थलोमा केन्द्रित हुँदा प्रजातान्त्रिक मूल्यहरू कमजोर पर्छन्, जनताभन्दा दलको स्वार्थ हाबी हुन्छ र सामाजिक न्याय तथा समावेशिताको आधार कमजोर बन्छ । त्यसैले राजनीतिक जीवनलाई स्वस्थ, जिम्मेवार र उत्तरदायी बनाउन वैकल्पिक शक्तिको उपस्थिति अपरिहार्य हुन्छ ।
नेपालको सन्दर्भमा हेर्दा पनि दशकौंदेखि दुई–तीन मुख्य धारका दलहरूले शासन सत्ता सम्हाल्दै आएका छन् । तर, यी दलहरूकै कारण मुलुकमा लोकतान्त्रिक अभ्यास निरन्तर भए पनि अपेक्षित सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका क्षेत्रमा ठूला उपलब्धि हासिल भएको छैन । दलहरू भित्रभित्रै गुटबन्दीमा फसेका छन्, जनताका सवाललाई बेवास्ता गर्दै नेताहरूको व्यक्तिगत महत्वाकांक्षा प्रधान भएको छ । यस्तै, परिस्थितिमा जनतामाझ नयाँ राजनीतिक विकल्पको आवश्यकता झनै तीव्र रूपमा अनुभूत हुन्छ ।
वैकल्पिक शक्ति आवश्यक हुने पहिलो कारण नै जिम्मेवारीको प्रश्न हो । पुराना दलहरूले निरन्तर सत्ता सम्हाल्दा उनीहरूमा जबाफदेहीपन हराउँदै जान्छ । जनताले भोगेका समस्या उनीहरूको प्राथमिकतामा पर्दैनन् । तर, नयाँ शक्ति प्रवेश गर्दा पुरानाहरू पनि सचेत बन्न बाध्य हुन्छन् । प्रतिस्पर्धीको डरले उनीहरू जनमुखी नीतिहरू ल्याउन र व्यवहारमै परिवर्तन गर्न बाध्य हुन्छन् । यसरी वैकल्पिक शक्ति केवल नयाँ दलको उदय मात्र नभई स्थापित दललाई पनि जनउत्तरदायी बनाउने दबाब स्वरूप देखा पर्छ ।
मुलुकको राजनीतिक संस्कृतिलाई स्वच्छ बनाउन वैकल्पिक शक्ति अपरिहार्य हुन्छ । लामो समयदेखि चल्दै आएका राजनीतिक दलहरूमा भ्रष्ट्राचार, नातावाद, गुटबन्दी र पद प्राप्तिको लहर गहिरो रूपमा जमिसकेको हुन्छ । यस्तो संस्कृतिले राजनीति जनसेवाभन्दा व्यक्तिगत धन्दामा परिणत गरिदिन्छ । जब वैकल्पिक शक्ति मैदानमा आउँछ, उसले आफूलाई भिन्न र स्वच्छ देखाउने प्रतिस्पर्धा गर्छ । यसरी राजनीति सेवा र इमानदारीको बाटोमा फर्किन बाध्य हुन्छ ।
सामाजिक र वर्गीय प्रतिनिधित्वलाई सन्तुलनमा ल्याउन पनि वैकल्पिक शक्ति आवश्यक छ । प्रायः परम्परागत दलहरूमा ठूला जात, ठूला वर्ग वा आर्थिक रूपमा सबल समुदायकै वर्चस्व हुन्छ । यसरी सीमित वर्गले मात्र राज्यसत्ता नियन्त्रण गर्दा सीमान्तकृत, वञ्चित, गरिब, ग्रामीण वा युवा समुदायहरूको आवाज दबिन्छ । वैकल्पिक शक्ति भने ती समूहहरूको प्रतिनिधि बन्दै मैदानमा उत्रिन्छ । यसरी राजनीति धेरै फराकिलो दायरामा प्रवेश गर्न थाल्छ, जसले लोकतन्त्रलाई साँच्चै सर्व समावेशी बनाउन मद्दत पुर्याउँछ ।
नीतिगत नवीनता ल्याउन पनि वैकल्पिक शक्ति अपरिहार्य हुन्छ । पुराना दलहरू प्रायः आफ्ना स्थापित विचार र नीति–कार्यक्रममै अड्किन्छन् । समय र परिस्थितिअनुसार परिमार्जन गर्न उनीहरू ढिलो गर्छन् । तर, नयाँ शक्ति उदाएपछि उसले नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ कार्यशैली प्रस्तुत गर्छ । यसरी कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, रोजगारी, विदेश नीति जस्ता क्षेत्रमा ताजा विचार आउँछ, जसले मुलुकलाई समसामयिक आवश्यकताअनुसार अगाडि बढ्न सहयोग गर्छ ।
जनतामा आशा र उत्साह जगाउन पनि वैकल्पिक शक्तिको उपस्थिति आवश्यक हुन्छ । लामो समयदेखि एउटै दल वा नेताले शासन गर्दा जनता निराश, असहाय र उदासीन बन्न सक्छन् । जनतामा राजनीतिक प्रणालीप्रति आस्था घट्दै जान्छ । तर, नयाँ विकल्प देखिँदा तिनलाई फेरि आशा पलाउँछ, शायद यो दल वा यो नेतृत्वले परिवर्तन ल्याउँछ । यो आशा लोकतन्त्रको ज्यान हो, जसले जनतालाई निरन्तर सक्रिय र सचेत राख्छ ।
नेपालमा पछिल्ला वर्षहरूमा विभिन्न वैकल्पिक शक्ति जन्मिएका छन् । कतिपय टिके, कतिपय गुम भए । तर, तिनको उपस्थितिले परम्परागत दलहरूलाई चेताउने काम भने गरिरहेकै छ । जस्तै, नयाँ पुस्ताले नेतृत्व गरेका केही दलहरू संसदमा पुग्दा पुराना दलहरूलाई पनि युवालाई मौका दिन दबाब बढ्यो । यस्तै, भ्रष्टाचारविरुद्धको आवाज उच्चारण गर्दा ठूला दलहरूलाई पनि केही हदसम्म सुधारको प्रयास गर्नुपरेको देखिन्छ ।
यद्यपि, वैकल्पिक शक्तिको मात्र उदय पर्याप्त हुँदैन । त्यसले जनताको विश्वास जित्न व्यवहारमै फरकपन देखाउनुपर्छ । यदि नयाँ शक्ति पनि समयसँगै पुरानै शैलीमा गुटबन्दी, नातावाद र भ्रष्ट्राचारमा डुब्यो भने त्यो विकल्प होइन, पुनः निराशा मात्र बन्न पुग्छ । त्यसैले नयाँ शक्तिले आचारसंहिता, पारदर्शिता, जबाफदेहिता, समावेशिता र इमानदारीलाई आधार बनाएर अघि बढ्न जरुरी हुन्छ ।
अन्ततः, लोकतन्त्रलाई बलियो बनाउने सबैभन्दा ठूलो ग्यारेन्टी नै निरन्तर विकल्पको उपलब्धता हो । जब जनतासँग विकल्प हुन्छ, उनीहरू कुनै पनि दल वा नेतामाथि अन्धभक्ति राख्दैनन् । उनीहरूले गल्ती गर्नेहरूलाई सजिलै छाडेर अर्को विकल्प रोज्न सक्छन् । यसले राजनीतिलाई स्थायी रूपमा स्वच्छ, प्रतिस्पर्धात्मक र जनमुखी बनाएर राख्छ ।
यसरी, राजनीतिमा वैकल्पिक शक्ति केवल नयाँ दलको उदय होइन, लोकतन्त्रलाई निरन्तर जीवित राख्ने आवश्यक तत्व हो । यसले शासनलाई जबाफदेही बनाउँछ, राजनीतिक संस्कृतिलाई शुद्ध बनाउँछ, सीमान्तकृत समुदायको आवाजलाई सम्बोधन गर्छ, नयाँ विचार ल्याउँछ र जनतामा आशा जगाउँछ । त्यसैले नेपालको राजनीतिक यात्रा अझै कठिनाइपूर्ण भए पनि वैकल्पिक शक्तिको आवश्यकता कहिल्यै कम हुँदैन । बरु हरेक पुस्ताले आफ्नो समय र परिस्थिति अनुसार नयाँ शक्ति निर्माण गर्ने सामथ्र्य देखाउनुपर्छ, जसले मुलुकलाई स्थिर, समृद्ध र न्यायपूर्ण भविष्यतर्फ डोर्याउन सक्छ ।